राजनीति

सकसमा माधव नेपाल- कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकुर? (भिडियो रिपोर्टसहित)

२०७९ असार ७ गते २०:३४
सकसमा माधव नेपाल- कुकुरले पुच्छर हल्लाउने कि पुच्छरले कुकुर? (भिडियो रिपोर्टसहित)

७ असार २०७९ काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्री फेर्न गरेको प्रस्ताव लामो समयदेखि अलपत्र छ ।

पुराना मन्त्री फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउन बालुवाटारमा नाम पठाए पनि मन्त्रीहरुले प्रधानमन्त्रीलाई प्रभावित पारेपछि एकीकृत समाजवादीको मन्त्री फेर्ने योजना अघि बढ्न सकेको छैन ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीबाट पठाएका मन्त्री फेर्ने विषय पार्टीको सार्वभौम अधिकार भएको अभिव्यक्ति दिँदै आउनु भएको छ ।

अध्यक्ष माधवकुमार नेपालले पनि केही दिनमा मन्त्री हेरफेर हुने बताइरहनु भएको छ । हाल सरकारमा रहेका मन्त्रीहरु आफैँ पनि पार्टीको निर्देशनबमोजिम केही दिनमा फिर्ता हुने बताउँदै आएका छन् । नेता र मन्त्रीहरुले यसो बोल्न थालेका तीन हप्ता हुन थालेको छ । तर मन्त्री फेरिने लगन चाहिँ जुरेको छैन ।

६ महिने मन्त्रीका लागि नामांकन गरिएका नयाँ अनुहारहरु अझै पनि आशावादी छन् । नेतृत्वले सान्त्वना दिइरहेको छ । तर हाल सरकारमा रहेका मन्त्रीहरु पार्टी नेतृत्वभन्दा पनि शक्तिशाली बन्दै गएपछि मन्त्री फेर्ने निर्णय फलामको चिउरा बनेको छ ।

त्यतिमात्र होइन एकीकृत समाजवादीको नेतृत्व दोहोरो चेपुवामा परेको छ । फिर्ता बोलाइएका मन्त्रीहरु नेतृत्वले सल्लाह नै नगरेको भन्दै असन्तुष्ट बनेका छन् भने वेइटिङ मिनिस्टरका रुपमा दौरा सुरुवाल सिलाएर बसेकाहरु आफ्नो बदनाम गरिएको भन्दै नेतृत्वसँग चिढिएका छन् ।

तिनै सांसदहरुको टेकोमा थामिएको पार्टी चाहिँ दुईतिरबाट लगाइएको मुढे बलका अगाडि निरीह देखिएको छ ।

एकीकृत समाजवादीका मन्त्रीहरुले मन्त्रिपरिषद् हेरफेर भए अस्थिरता आउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई कन्भिन्स गरेका छन् । उनीहरु आफ्नो पार्टी अध्यक्षलाई भन्दा देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फकाएर कार्यकाल लम्ब्याउन सक्रिय छन् ।

पार्टी विभाजन हुँदा साथ दिएकाहरुलाई पालैपालो पदको स्वाद चखाउने र फकाउने योजना बनाएको नेतृत्वलाई अकस्मात गरिएको सचिवालयको निर्णय निल्नु न ओकल्नु भएको छ ।

सार्वजनिक ठाउँमा पार्टीको सार्वभौम अधिकार भन्दै गफ दिए पनि जग बिनै ठडिएको एकीकृत समाजवादीको घर यिनै मन्त्री नामको टेको हल्लिनासाथ धरमराउने अवस्थामा पुगेको छ । जसकारण एकीकृत समाजवादीको हालत कुकुरले पुच्छर हल्लाउने भन्दा पनि पुच्छरले कुकुर हल्लाउने अवस्थामा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्