समाज

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई जोड्ने दोस्रो पक्की पुल सञ्चालनमा (भिडियो रिपोर्टसहित)

२०७९ असार ७ गते १७:५४
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई जोड्ने दोस्रो पक्की पुल सञ्चालनमा (भिडियो रिपोर्टसहित)

७ असार २०७९ कैलाली । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई जोड्ने दोस्रो पक्की पुल सञ्चालन भएको छ ।

पुल बनेपछि कर्णाली नदी तर्नका लागि चिसापानी हुँदै जानुपर्ने बाध्यता हटेको छ । बाटो र समय छोट्टिएको छ भने यात्रा र ढुवानीको खर्च समेत घटेको छ ।

विगतमा कर्णाली नदीमा पुल नहुँदा वारपार गर्दा ढुङ्गामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । अब पुल बनेपछि सहज भएको छ ।

सुर्खेतको चौकुने गाउँपालिका–१० र कैलालीको मोहन्याल गाउँपालिका–७ लाई जोड्ने गरी निर्माण भएको पुलमा सवारीसाधन चल्न थालेका छन् । यो पुल तयार भएपछि कैलालीबाट सुर्खेत पुग्न १०० किलोमिटर बाटो छोटो भएको छ । कुनै समय नदी वारीपारीका बस्ती विराना जस्ता लाग्थे अहिले छिमेक भएका छन् ।

विगतमा नदीमा वारपार गर्दा ढुङ्गामा ३–४ दिनसम्म पालो नआउने आइहाले पनि धेरै पैसा तिरेर जानुपर्ने बाध्यता थियो । पक्की पुल नहुँदा नदी तर्ने क्रममा केहीले ज्यान समेत गुमाए । पुल बनेपछि अहिले स्थानीयको जीवनस्तरमा समेत सुधार आएको छ ।

अहिले पञ्चपुरी नगरपालिका र मोहन्याल गाउँपालिका जोड्ने कुहिने पुल पनि निर्माण भइरहेको छ । कुहिने पुल कर्णाली र सुदूरपश्चिम जोड्ने तेस्रो पुल हो । यो पुलको ९५ प्रतिशत काम सकिएको छ ।

केही वर्ष अघिदेखि दैलेख(अछाम जोड्ने पक्की पुल सञ्चालनमा छ। दैलेखको आठबिस नगरपालिका र अछामको विनायक नगरपालिकालाई जोड्ने गरी मध्यपहाडी राजमार्गमा पक्की पुल बनेको थियो ।

उक्त पुल कर्णाली र सुदूरपश्चिम प्रदेशलाई जोड्ने पहिलो सडक पुल हो । चिसापानीस्थित पुल बन्नुभन्दा अघि सुदूरपश्चिमेलीले कर्णाली तर्न भारत जानुपर्थ्यो । अहिले तीनवटा पुल संचालनमा आएसँगै कर्णाली र सुदूरपश्चिम आवतजावत गर्न सहज भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *