Main News

पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा विद्यार्थी संगठनको बेवास्ता किन ? (भिडियो रिपोर्टसहित)

२०७९ असार ६ गते २१:२१
पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा विद्यार्थी संगठनको बेवास्ता किन ? (भिडियो रिपोर्टसहित)

६ असार २०७९ काठमाडौं । विगतमा इन्धनको मूल्य एक रुपैयाँ बढ्दा पनि विद्यार्थी संगठनहरु सशक्त आन्दोलनमा उत्रिने गर्दथे भने सरकार बढेको मूल्य फिर्ता लिन बाध्य हुन्थ्यो ।

पछिल्ला दिनहरुमा इन्धनको मूल्य एक रुपैयाँ होइन् एकैपटक २७ रुपैयाँ प्रतिलिटरसम्म बढ्दा पनि विद्यार्थीसंगठनहरु विगतमा जस्तो सशक्त आन्दोलनमा उत्रिनुको साटो मूकदर्शक बनेका छन् । अचाक्ली मूल्य वृद्धिविरुद्ध उभिन नसक्ने विद्यार्थी संगठन र आयल निगमका बीच साँठगाँठ त छैन् भन्ने प्रश्न पनि उठेको छ ।

यो भिडभाड युक्त कार्यक्रम माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को सपथग्रहण तथा पदभार ग्रहण समारोह हो । मंगलबार दिउँसो २ बजेतिर काठमाडौंको बागबजारस्थित संगठनको कार्यालयमा सपथग्रहण गर्न र पदभार ग्रहण गर्न विद्यार्थी नेताहरुलाई भ्याइ नभ्याइ थियो ।

यो संगठनको कार्यक्रम यस्तो समयमा भैरहेको थियो, जुन समयमा आयल निगमले उपभोक्ताको ढाड सेक्ने गरी भारी मात्रामा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । कार्यक्रममा सहभागी विद्यार्थी नेताहरुलाई मूल्यवृृद्धिको कुनै चासो र चिन्ता देखिँदैनथ्यो ।

विगतमा इन्धनको मूल्य एक रुपैयाँ बढ्दा आन्दोलन गरी फिर्ता लिन दबाब दिन सक्ने विद्यार्थी संगठनहरुलाई अहिले एकै पटक पेट्रोलमा प्रतिलिटिर २१ रुपैयाँ र डिजेल–मट्टितेलमा २७–२७ रुपैयाँ मूल्य बढ्दा पनि कुनै चिन्ता देखिँदैन । चिन्ता भएको भए अनेरास्ववियू क्रान्तिकारीका विद्यार्थी नेतालाई शपथमा होइन सडकमा देख्न पाइन्थ्यो ।

त्यस्तै इतिहासमा इन्धनको मूल्य वृद्धिका विरुद्ध सशक्त रुपमा उभिने एमाले निकट विद्यार्थी संगठन पनि कतै सडकमा देखिएको छैन । प्रमुख सत्ताघटक नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको त एक सदस्यीय कमिटी मात्रै छ ।

अध्यक्ष बाहेक कुनै पदाधिकारी र सदस्य नै नभएको यो विद्यार्थी संगठनले मूल्य बृद्धिका विरुद्ध सडकमा कसलाई लिएर प्रदर्शनमा जान्छ ? अपेक्षा गर्नु नै मूर्खता हुन सक्छ । त्यसमाथि जसले किस्तीमा राखेर अध्यक्ष पद दिएको छ, उसैविरुद्ध नेविसंघ नामको संगठन कसरी सडकमा जान सक्ला ?

सरकारले एक पछि अर्को गर्दै इन्धनमा मूल्य बढाएर आम नागरिकको दैनिकी नै अस्तव्यस्त बनाउँदा पनि विद्यार्थी संगठनहरु शान्त देखिँँदा कतिपयले निगम र विद्यार्थी संगठनका बीचमा मिलेमतो हुन सक्ने आशंका गर्न थालेका छन् ।

विद्यार्थी नेताहरुले कुपनमा निशूल्क इन्धन पाउने गरेकाले उनीहरुले विरोधमा सडक तताउन छोडेको कतिपयको आरोप छ । तर विद्यार्थी नेताहरुले भने आफूहरु मूल्य वृद्धिका विरुद्ध सधैं उभिएको दाबी गर्दै निगमबाट कुनै लाभ नलिएको र लिएको भए प्रमाण ल्याउन चुनौति दिन्छन् ।

विद्यार्थीको जुलुस लिएर पहिले सडकमै निस्कने र मूल्यवृद्धि घटाउन सफल हुने विद्यार्थी संगठनले अहिले पनि कर्मकाण्डीसम्म भए पनि विरोध नै गर्न छोडेका भने छैनन् । तर पदाधिकारी चयनमै देखिने राजनीतिक नेतृत्वको ठाडो हस्तक्षेपले विद्यार्थी संगठनहरु पार्टी नेतृत्वकै आदेशप्रति बफादार हुने गरेका छन् ।

अहिलेको अवस्था हेर्ने हो भने सबैजसो ठूला राजनीतिक दलका विद्यार्थी संगठनको नेतृत्व पार्टी प्रमुखकै खल्तीबाट आएको छ । विद्यार्थी वा आम नागरिकको दैनिकीसँग जोडिएका विषयमा सवाल नै गर्न नपाउने गरी लगाम लगाइएका अनुहार लिएर विद्यार्थी संगठनका अध्यक्ष वा पदाधिकारी बनेकाहरु यो विषयमा बोल्ने अपेक्षा गर्नुसमेत मुर्खता हुने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *