Main News

दुबईका राजकुमार र सुनको लौरो ! के हो वास्तविकता ? (भिडियो रिपोर्टसहित)

२०७९ असार ५ गते २०:४६
दुबईका राजकुमार र सुनको लौरो ! के हो वास्तविकता ? (भिडियो रिपोर्टसहित)

५ असार २०७९ काठमाडौं । व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई दुबईका राजकुमारले सुनको लौरो उपहार दिएको चर्चा शनिबार दिनभर चल्यो ।

सञ्चार माध्यमदेखि सामाजिक सञ्जालमा प्रसाईले उपहारमा पाएको सुनको लौरोकै चर्चा भयो । प्रसाईले पाएको लौरो सुनै थियो त ? सुनको लौरो नै थियो भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कसरी भित्रियो ? आम चासोको विषय बनेको छ ।

शनिबार बिहानै दुबईका राजकुमार तीन दिने नेपाल भ्रमणमा आएको समाचार बाहिरियो । नेपाल भ्रमणमा आएलगत्तै राजकुमार झापा पुगेको र नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका व्यवसायी दुर्गा प्रसाईँले स्थापना गरेको अस्पतालमा एउटा उपकरणको शुभारम्भ गर्ने समाचार भाइरल भैसकेका थिए ।

त्यसपछि त झन व्यवसायी प्रसाईलाई राजकुमारले सुनको लौरो नै उपहार दिएको तस्वीरसहितको समाचार आएपछि चर्चा एकाएक चुलियो । राजकुमार भनिएका व्यक्तिले प्रसाईलाई पहँलो धातुको वस्तु उपहार दिनु भएको थियो । सुनको लौरो उपहारमै दिएको भनेपछि त लौरो कति किलो सुनबाट बनेको होला ?

एकदुई तोला सुनका लागि त निश्चित प्रक्रिया पूरा गर्नुपर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनकै लौरो कसरी भित्रियो भनेर आम चासो बढ्नु स्वाभाविकै थियो ।

हामीले यस विषयमा विमानस्थल भन्सार कार्यालयसँग जिज्ञासा राख्यौं । राजकुमार भनिएका व्यक्तिले ल्याएको लौरो सुनको नभएको कार्यालयले जनाएको छ । सामान्य व्यक्ति सरह विमानमा आएको र उहाँको लगेज, व्यागेज सोही अनुसार जाँचपास गरिएको भन्सार प्रमुखको भनाइ छ ।

उता सुनको लौरो उपहारमा पाएको भनिएका व्यवसायी प्रसाईसँग पनि हामीले जिज्ञासा राख्ने प्रयास गर्यौं । तर उहाँ व्यस्त भएका कारण कुरा हुन सकेन । उहाँको सुनको लौरोको विषयमा त्यसअघिनै दिएको प्रतिक्रिया भने यस्तो थियो ।

दुबईका राजकुमार भनिएका शेख मोहम्मद जुमा ला मक्तुम राजकुमार नभइ राजपरिवारका टाढैका नातेदार मात्रै रहेको पाइएको छ । दुबईका राजकुमारको नाम शेख हमदन बिन मोहम्मद बिन रसिल अल मक्तुम हो ।

दुबईका राजकुमार आएको भए परराष्ट्र मन्त्रालयमा जानकारी हुने थियो भने उच्चस्तरीय सुरक्षा व्यवस्था दिनुपर्ने हुन्थ्यो । साथै परराष्ट्र मन्त्रालयले विमानस्थलमा रहेका निकायहरुलाई पनि अनिवार्य जानकारी दिन्थ्यो । तर व्यवसायी प्रसाईको व्यक्तिगत निम्तोमा आएका व्यक्तिको विषयमा भने न त परराष्ट्र मन्त्रालयलाई नै जानकारी थियो न त विमानस्थल प्रशासनलाई मन्त्रालयले जानकारी गराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *