राजनीति

नियतमै खराबी भएको नेतृत्वबाट के अपेक्षा गर्ने ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असार ५ गते ८:१२
नियतमै खराबी भएको नेतृत्वबाट के अपेक्षा गर्ने ? (भिडियो रिपोर्टसहित)

५ असार २०७९ काठमाडौं । राजनीतिक सम्पत्ति भनेको नेताको नैतिकता पनि हो । नेतामा हुनुपर्ने गुणमा सबैभन्दा महत्वपूर्ण कुरा उसको नैतिकता र इमान्दारिता हुन्छ । नेपालमा इमान्दार नहुनुलाई राजनीतिका रुपमा परिभाषित गरिन्छ । त्यसैले राजनीतिमा जे पनि हुन्छ भन्ने कुरा स्वीकार्य छ । तर नियतमै खराबी भएको नेतृत्वबाट त के अपेक्षा गर्ने ?

अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीबारे हालै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरु लाइन लागेर झुटो बोले । सरकारले गुपचुप अघि बढाउन लागेको यो कार्यक्रमबारे सदनमा प्रश्न उठेपछि सत्तारुढ दलकै सांसदहरुले यो कार्यक्रमको विरोध गरिरहँदा एमाले नेता कार्यक्रमबारेको बहसमा भन्दा बढी अमूक व्यक्तिलाई राष्ट्रघाती करार गर्न आफ्नो आवाजको भोलुम बढाइरहेका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री रहेका बेला सन् २०१५ मा नेपाली सेनाले एसपीपीमा सहभागी गराउन अमेरिकालाई पत्राचार गरेको तथ्य खुल्दै गर्दा यो सरकारलाई राष्ट्रघाती करार गर्न माइक समातिसकेका नेताहरु आफ्नो बचाउमा बोल्नुपर्ने अवस्था बन्यो । अहिले उनीहरु त्यो बेला आफूहरुलाई सेनाले जानकारी नै नदिएको भन्न थालेका छन् ।

खैर कुनै न कुनै हिसाबले संसददेखि आम नागरिकलाई ढाँट्नेक्रम अझै जारी छ । एसपीपी प्रकरणमा होस् वा एमसीसी प्रकरणमा एमाले नेताहरुले सदनदेखि संसदसम्म ढाँट्ने र सरकारविरुद्ध आक्रोश व्यक्त गर्ने क्रम जारी राखे ।

राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा ओलीले एसपीपीबारे त्यसबेला आफूलाई थाहै नदिइएको बताउनुभयो । त्यसपछि उपमहासचिव प्रदीप ज्ञवालीले त्यतिबेला राजनीतिक नेतृत्वलाई समेत थाहा नभएको बताउनुभएको छ । थाहा नहुन सक्छ, तर यत्तिको राष्ट्रिय सरोकारको विषयमा अर्कोलाई दोषी देखाइहाल्नुअघि बहस विषयको गाम्भीर्यतामा केन्द्रित हुनुपर्थ्यो, त्यस्तो भएन ।

सर्वोच्च अदालतको परमादेशसँगै गत वर्षको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि एमसीसी पारितका लागि म्याद थपिदिन पत्रचार गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले ग्लास्गो भ्रमणसम्म पत्राचारको विषय गुपचुप राख्नुभयो । अर्थात् यति धेरै महत्वको विषय लुकाएर राख्ने उहाँको प्रयास ग्लास्गोबाट फर्केर आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीभीआईपी कक्षमा पत्रकारको प्रश्नसँगै उद्घाटित हुनपुग्यो ।

देउवा त एमसीसीको पक्षमा खुलेरै लागिरहेकाले केही समय पर्खिन वा फिर्ता नगरिदिन अमेरिकालाई पत्राचार गर्ने कुरा स्वभाविकसमेत थियो । तर यही विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार नै बोलाएर आफूले पत्र नपठाएको भन्दै झुट बोल्न कत्ति पनि हिचकिचाउनु भएन ।

झुटो बोल्ने, अर्को पार्टीको नेतालाई सिध्याउनका लागि ठूलठूला स्वरमा रहस्यपूर्ण कुरा गर्ने र षड्यन्त्रहरुको योजनाबारे आफू जानकार रहेको भन्दै भ्रममाथि भ्रम सिर्जना गर्न खोज्ने काम नेताहरुबाट भइरहेको छ । नागरिकलाई भ्रमित पार्न नेताहरुले तयार गर्ने अनौठा पदावलीले कतिपय राष्ट्रिय महत्वका मुद्दाहरुसमेत प्रभावित हुने गरेका छन् ।

एसपीपी प्रकरणमा पनि एमाले नेताहरुबाट यो प्रयास देखिएको छ । खैर एसपीपी प्रकरण सकिएको छ । सरकारले अस्वीकार गर्ने बताइसकेको छ । तर एकअर्कालाई डाम्ने राजनीतिक नेतृत्वको खराब नियत सकिएको छैन ।

कुनै पनि विषयमा राष्ट्रहितभन्दा बढी राजनीतिक हित र सिट सुरक्षित गर्न न्यूनतम नैतिकताको समेत ख्याल नगर्ने र दिउँसै रात पार्न खोज्ने प्रवृत्तिले नेताहरुको नियतलाई गिज्याइरहेको छ । कुनै पनि विषयमा गम्भीर र संवेदनशील नदेखिने नेतृत्वबाट के अपेक्षा गर्ने ? के शीर्ष नेताहरुले ऐनामा आफूलाई पनि प्रेम आले नै देख्ने गरेका हुन् ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्