Main News

बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्नुस् : मुख्यमन्त्री शाही

२०७९ असार ४ गते १७:१८
बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्नुस् : मुख्यमन्त्री शाही

४ असार २०७९ काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्न आग्रह गर्नुभएको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घ र मर्चेन्ट बैंकर्स एशोसिएसन अफ नेपालद्वारा आज सुर्खेतमा आयोजित प्रदेशस्तरीय पुँजीबजार सचेतना कार्यक्रममा उहाँले आफूसँग भएको स्रोतलाई मात्र परिचालन गर्न सुझाव दिनुभयो ।

मुख्यमन्त्री शाहीले पुँजीबजार लगानीकर्ता र बैंकर्सलाई ‘पाकेटमारा’ जस्तो व्यवहार नगर्न आग्रह गर्नुभयो । “शेयर बजार कहिले बढ्छ, कहिले घट्छ, सधैँ एकनाशको हुँदैन”, उहाँले भन्नुभयो, “शेयर बजार केही व्यक्तिमा सीमित गर्नुभएन, शेयर बजारमा पनि नियामक निकाय छ भन्ने आभास दिलाउनुस् ।”

कर्णालीमा पुँजीबजार लगानीकर्ताको सङ्ख्या निकै कम रहेको भन्दै उहाँले विकासको गति, पुँजीबजार सचेतना, बैंकिङ सुविधा पहुँचका कारण बढ्ने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री शाहीले प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले वित्तीय अनुशासन कायम गर्ने दाबी गर्नुभयो । उहाँले कर्णाली प्रदेश र मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गरी सात प्रदेशमा सबैभन्दा कम आकारको बजेट आफूले ल्याएको बताउनुभयो ।

बजेटमा यसअघि महालेखा परीक्षकको प्रतिवेदनले औँल्याएका त्रुटि सच्याएको तथा मुख्यमन्त्री कार्यालयको बजेट घटाएर सम्बन्धित विभागीय मन्त्रालयमा पठाएर वित्तीय अनुशासन कायम गरेको उहाँको भनाइ थियो । “चुनाव लक्षित, वितरणमुखी बजेट ल्याउन सकिन्थ्यो”, उहाँले भन्नुभयो, “विगतका कमजोरी सच्याइएको छ, बहुवर्षीय योजना र क्रमागत योजनालाई पूरा गर्न बजेट केन्द्रित गरिएको छ ।”

सचेतना कार्यक्रममा पुँजीबजार क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारीले प्राथमिक शेयर भर्ने प्रक्रियामा सुधारसँगै शेयर बजारप्रति आकर्षण बढेको बताउनुभयो । उहाँले प्राथमिक बजारको तुलनामा दोस्रो बजारमा प्रवेश गर्दा भने पुँजीबजारको विषयमा बुझेर र आवश्यकमात्रामा समयको व्यवस्थापन गर्नुपर्ने सुझाव दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश अध्यक्ष पदमबहादुर शाहीले पछिल्लो समय पुँजीबजार अर्थतन्त्रको महत्वपूर्ण खम्बा भएको धारणा राख्नुभयो । त्यस्तै नेपाल उद्योग परिसङ्घका प्रदेश उपाध्यक्ष विष्णुकुमार खड्काले राज्यका निकायबाटै शेयर बजार असुरक्षित हुनुका साथै लगानीकर्ता निराश बन्न पुगेको बताउनुभयो ।

नेपाल आर्थिक पत्रकार सङ्घका अध्यक्ष मोदनाथ ढकालले सचेतना कार्यक्रमले कर्णाली प्रदेशमा पुँजीबजारका लगानीकर्ता बढ्ने अपेक्षा व्यक्त गर्नुभयो । एकदिने सचेतना कार्यक्रममा कर्णालीका आर्थिक क्षेत्रमा संलग्न व्यक्तिका साथै शिक्षक, विद्यार्थीलगायतको सहभागिता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.