समाज

भैरव सहिद पार्क– आन्तरिक पर्यटकको घुइँचो, संरचना भने बिग्रँदै (भिडियो रिपोर्टसहित)

२०७९ असार ४ गते १३:१४
भैरव सहिद पार्क– आन्तरिक पर्यटकको घुइँचो, संरचना भने बिग्रँदै (भिडियो रिपोर्टसहित)

४ असार २०७९ सुर्खेत । कर्णाली सरकारले सुर्खेतको वीरेन्द्रनगर–४ मा प्रदेश प्राप्तिको आन्दोलनका सहिदको स्मृतिमा पार्क निर्माण गरेको छ ।

भैरव सामुदायिक वन क्षेत्रमा पार्क निर्माण सम्पन्न हुन नपाउँदै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । तर बनेका संरचना भने दिनानुदिन विग्रँदै जान थालेका छन् ।

संविधान जारी हुनुपूर्व छुट्टै प्रदेशको माग राखेर भएको आन्दोलनमा सुर्खेतका तीन र जुम्लाका एक जनाले ज्यान गुमाएका थिए । शुरुमा यि चार जना सहिदको सम्झनामा प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन तथा वातावरण निर्देशनालयले पार्क निर्माणको योजना अघि बढाएको थियो ।

पछि चार जनासँगै त्यस अवधिमा ज्यान गुमाएका सम्पूर्ण सहिदको सम्मान तथा सम्झनाका लागि पार्क बनाएर त्यहाँ स्तम्भ नै बनाइयो । निर्माणको काम सम्पन्न नहुँदै आन्तरिक तथा बाध्य पर्यटकहरु पार्क अवलोकनका लागि त्यहा पुग्ने गरेका छन् । तर, पार्क व्यवस्थित नभएको गुनासो पर्यटकको छ ।

जंगलको छेउमा रहेको शान्त र एकान्त भगेरी चौरमा निर्माण भएको पार्कमा दैनिक १ हजारभन्दा बढी पर्यटक पुग्छन् । तर, त्यहाँ शौचालयको समेत व्यवस्थापन हुन सकेको छैन ।

पार्क निर्माणमा एक करोड १३ लाख ५१ हजार रुपैयाँ लागतमा पार्कको पहिलो चरणको काम सम्पन्न गरेको प्रदेश वन निर्देशनालयले जनाएको छ । पहिलो चरणमा पार्कमा स्तम्भ, बगैँचा, पर्खाल निर्माण गरिएको छ । दोस्रो चरणमा वनस्पति उद्यानलगायत निर्माण गर्ने तयारीमा रहेको प्रदेश वन निर्देशक गोविन्द दाहालले बताउनु भयो ।

पार्क निर्माण भए पनि कसले संचालन गर्ने भन्ने अन्योल भएका कारण पनि यसको व्यवस्थापन हुन नसकेको हो । तर, यसलाई संरक्षण र व्यवस्थापन गर्न सकिए कर्णाली प्रदेशकै नमूना पर्यटकी गन्तब्य बन्न सक्छ र प्रदेशको आर्थिक उपार्जनको स्रोत पनि बन्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *