यसरी डोजर चढेर विद्यालय जान बाध्य विद्यार्थी (भिडियो रिपोर्टसहित)

४ असार २०७९ धादिङ । धादिङको नीलकण्ठ नगरपालिकास्थित हाँडीखोलामा पुल छैन । पुल नहुँदा वर्षायामको उर्लँदो भेलसँग जुधेर आफ्नो दैनिकी चलाउन बाध्य छन् स्थानीय।
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर सात । विद्यालय जानका लागि विद्यार्थीले कति संघर्ष गरिरहेका छन् ।
धादिङबेशी–सुनौलाबजार–फोस्रेटार सडक खण्डमा पर्ने खोलामा पुल नहुँदा कर्णेश्वर माध्यामिक विद्यालयका विद्यार्थीलाई सबैभन्दा धेरै समस्या हुने गरेको छ । हिउँदमा त ठिकै छ । तर जब वर्षायाम शुरु हुन्छ, विद्यालय जान ज्यानको बाजी थाप्नु पर्छ ।
यो समस्या शिक्षक र विद्यार्थीको मात्र होइन । सदरमुकाम धादिङबेशीबाट जम्मा ६ किलोमिटरको दूरीमा रहेको नीलकण्ठ सातका धेरै स्थानीयले यस्तै समस्या भोग्दै आएका छन् ।
नीलकण्ठ नगरपालिकाले हाँडी खोलामा पक्की पुल बनाउन र सडक खण्डको बाँकी भाग कालोपत्रे गर्नका लागि योजना अघि बढिसकेको दाबी गरे पनि व्यवहारमा देखिने गरी भने कुनै प्रगति भएको छैन ।
हाँडीखोलामा मात्रै नभएर बर्खा लागेपछि धादिङका अन्य ठाउँमा समेत बाढी–पहिरोका कारण धेरै स्थानीयले कष्टकर दैनिकी झेल्दै आएका छन् ।
प्रतिक्रिया