Main News

एसपीपीबारे गठबन्धनका शीर्ष नेताहरुबीच छलफल, हस्ताक्षर नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

हिमालय टिभी
२०७९ असार १ गते १३:१७
एसपीपीबारे गठबन्धनका शीर्ष नेताहरुबीच छलफल, हस्ताक्षर नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

१ असार २०७९ काठमाडौं । स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का विषयमा विवाद देखिएपछि सत्तारुढ दलका शीर्ष नेताबीच छलफल भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सम्भावित अमेरिका भ्रमणका क्रममा एसपीपी सम्झौतामा हस्ताक्षरको तयारी भएपछि सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसित भएको छलफलमा प्रधानमन्त्री देउवाले एसपीपीमा अहिले हस्ताक्षर नगर्ने प्रतिवद्वता जनाउनुभएको बताइएको छ ।

प्रधानमन्त्री देउवाको सम्भावित अमेरिका भ्रमणका बेला एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी भइरहेको छ । त्यसका लागि सम्झौताको मस्यौदा अमेरिकाले नेपाली सेना, सरकार र राष्ट्रपति कार्यालयलाई बुझाइसकेको थियो ।

एसपीपीमा सरकारले सम्झौता गर्न लागेको थाहा पाएपछि वामपन्थी दलहरुले त्यसको विरोध गर्दै आएका छन् । सम्झौताको मस्यौदा सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित सत्तारुढ दलकै नेताहरुले समेत विरोध जनाएपछि प्रधानमन्त्री देउवा एसपीपी सम्झौता तत्काल नगर्ने मनस्थितिमा पुग्नुभएको हो ।

गत अप्रिलमा अमेरिकाले परिमार्जनसहित नेपाललाई बुझाएको एसपीपी सम्झौताको मस्यौदामा इन्डोप्यासेफिक रणनीतिअन्तर्गत रहने गरी नेपालको उच्च भूभागमा संयुक्त प्रशिक्षण अभ्यास, नेपालमा संयुक्त विपद् व्यवस्थापन तथा उद्धार अभ्यास गर्ने उल्लेख छ ।

यस्तै नेपाली सेनाका अधिकृतहरूका लागि संयुक्त राज्यमा संयुक्त फेलोसिप कार्यक्रम, उटाह राष्ट्रिय पहरेदारका अधिकृतहरूका लागि नेपालको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा अल्पकालीन फेलोसिप कार्यक्रम समेटिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *