Main News

प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको चर्चा सडकदेखि सदनसम्म (भिडियो रिपोर्टसहित)

२०७९ जेठ ३० गते २१:१९
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको चर्चा सडकदेखि सदनसम्म (भिडियो रिपोर्टसहित)

३० जेठ २०७९ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको चर्चा सडकदेखि सदनसम्म चलेको छ । तर, प्रधानमन्त्रीको सचिवालय वा परराष्ट्र मन्त्रालयले कुनै औपचारिक जानकारी दिएको छैन ।

प्रधानमन्त्री देउवा असारको अन्तिममा वासिङटन यात्रामा निस्किने तयारीमा हुनुहुन्छ । यो भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आशंका गरेको छ र भ्रमणबारे यर्थाथ जानकारी दिन माग पनि गरेको छ ।

गत जेठ ११ मा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले अमेरिकी रक्षा मन्त्रालयकी दक्षिण र दक्षिणपूर्वी एसिया हेर्ने उप–सहायक मन्त्री लिन्डसे फोर्डसँग भेटवार्ता गर्नुभयो । उहाँहरुको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण गराउने गरी छलफल भएको विषय सार्वजनिक भयो ।

त्यसपछि प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रक्षामन्त्रीको कि प्रधानमन्त्रीको हैसियतमा भन्दै प्रश्न उठाउँदै आएको छ । हुन त प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार यो भ्रमण अमेरिकी राष्ट्रपति जो वाइडेनकै निमन्त्रणामा हुन लागेको हो तर यसको औपचारिक पहल त्यहाँको रक्षा मन्त्रालयले गरेको छ ।

प्रधानमन्त्रीको भ्रमण अघि प्रधानसेनापतिको अमेरिका भ्रमण टुंगो भइसकेको छ । त्यसअघि अमेरिकी सैन्य कमाण्डर चाल्स एडमाइरल फ्लिनले काठमाडौं भ्रमण पुरा गरिसक्नुभएको छ । त्यसैले यहाँ राजनीतिक दलहरुले प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई रक्षासँग जोडेर शंकाको दृष्टिकोणले हेरेका छन् ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देउवाको अमेरिका भ्रमणको बिषयमा प्रश्न उठाउनु भयो । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सोमवार भएको छलफलमा भाग लिँदै उपमहासचिव ज्ञवालीले प्रधानमन्त्रीले रक्षामन्त्रीकै हैसियतमा अमेरिकाको भ्रमण गर्न लागेको हो, भन्दै प्रश्न उठाउनु भयो ।

भ्रमणबारे प्रमुख प्रतिपक्ष एमालेले मात्र होइन, सत्ता घटक माओवादी केन्द्रका नेता देव गुरुङले पनि एमसीसीपछि अमेरिकी अधिकारीको भ्रमण बाक्लिएकोमा आशंका जनाउनु भएको थियो । सत्तारुढकै अर्को घटक एकीकृत समाजवादीकै अध्यक्ष माधवकुमार नेपालले पनि शंका व्यक्त गर्नुभएको छ ।

अमेरिकी सहयोग एमसीसी पारित गर्नै नहुने पक्षमा रहेका एमाले सांसद भीम रावलले त अमेरिकी हिन्द–प्रशान्त रणनीतिमा नेपाल सामेल हुन लागेको आरोप नै लगाउनुभएको छ ।

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको बिषयमा प्रश्न उठिरहँदा कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले भने अनावश्यक रुपमा आशंका नगर्न आग्रह गर्नुभयो । भ्रमणबारे किन मौन रु भन्ने प्रश्नमा महत समय आएपछि सबै जानकारी दिइने बताउँनुहुन्छ ।

अमेरिका भ्रमणका क्रममा अमेरिकासंग नेपालको पूर्वाधार विकासमा सहयोग गर्न र त्यसमा पनि आर्थिक अनुदान सहयोगका लागि प्रधानमन्त्री देउवाले आग्रह गर्न सक्ने नेता महतको भनाइ छ ।

साथै सरकारी सहयोग मात्रै नभएर नेपाली बस्तुलाई सहज निर्यातको वातावरण बनाउन, अमेरिकी कम्पनीहरुलाई नेपालमा लगानी गर्नका लागि आग्रह गर्नुपर्ने महतको सुझाव छ । प्रधानमन्त्री देउवाको भ्रमणबारे सरकारले यर्थाथ जानकारी दिंदै अमेरिकासँग नेपालले लाभ लिनसक्ने विषयका लागि परामर्श अघि बढाउन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *