समाज

बाढीले हरेक वर्ष खेतबारी सखाप, राहत नपाउँदै सधैं यस्तो आहत (भिडियो रिपोर्टसहित)

२०७९ जेठ ३० गते १७:०३
बाढीले हरेक वर्ष खेतबारी सखाप, राहत नपाउँदै सधैं यस्तो आहत (भिडियो रिपोर्टसहित)

३० जेठ २०७९ गोरखा । दुई वर्षदेखि बाढी पहिरोले पालुङटार नगरपालिका वडा नम्बर ९ जोगीबेशी, बिर्दी, सेरा आसपासका घर र खेतियोग्य जमिनमा ठूलो क्षति पुर्‍याइरहेको छ ।

बाढीले अन्नबालीमा पुर्‍याएको क्षति पनि उस्तै छ । तर, सरकारले न क्षति न्यूनिकरणका लागि कुनै काम गरेको छ न पीडितलाई क्षतिपूर्ति नै दिएको छ । जसका कारण स्थानीय चिन्तित छन् ।

वर्षेनी आएको बाढी पहिरोले यहाँका दर्जनौं स्थानीयको घर–खेतमा क्षति पुर्‍याउँछ । हजारौँ रोपनी क्षेत्रफलमा लगाएको अन्नवाली नष्ट हुन्छ । प्राकृतिक विपत्तीका कारण किसानले दुःख पाउँदै आएका छन् । त्यो भन्दा बढी स्थानीयको दुखेसो सरकारको निकम्मापनमा छ ।

यहाँ हालसालै चुतीखोला र खहरे खोलामा आएको बाढीका कारण जोगी बेशीदेखि बिर्दीसम्मको करिब ३५ सय रोपनी खेत बाढीका कारण बगरमा परिणत भएको छ ।

बाढीले भित्र्याउने बेला भएको जुडी धान र रोपाइँको तयारी भइरहेको फाँट बगरमा परिणत हुँदा अझ बढी पीडा थपिएको छ । बाढीका कारण विस्थापित भएकाहरुको अझैसम्म पुनर्स्थापना हुन सकेको छैन । जसले गर्दा प्रभावितहरु छिमेकमा शरण लिएर बसेका छन् । त्यति मात्र हैन सेरा बजारका दर्जनौं घर उच्च जोखिममा छन् ।

स्रोत साधनले पीडितलाई राहत दिन नसक्ने भएपछि वडाले पनि नगरपालिका, प्रदेश र केन्द्र सरकारलाई ताकेता गरेको छ । तर, पालिका, जिल्लास्तरीय विपत व्यवस्थापन समिति, प्रदेश र केन्द्र सरकारका तर्फबाट अहिलेसम्म कुनै सहयोग आएको छैन ।

सरकारले समयमै जोखिम पहिचान गरेर रोकथाम तथा न्युनिकरणका लागि पहल नगरे यहाँमात्रै हैन्, जिल्लाका धेरै ठाउँमा वर्षाका कारण प्रत्येक वर्ष करोडौंका खेतीयोग्य जमिन र अन्नबाली नष्ट हुने निस्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *