समाज

बजारभरी विषादी प्रयोग गरेर पकाइएको आँप, स्वास्थ्यलाई यस्तो हानिकारक (भिडियो रिपोर्टसहित)

२०७९ जेठ ३० गते १६:५१
बजारभरी विषादी प्रयोग गरेर पकाइएको आँप, स्वास्थ्यलाई यस्तो हानिकारक (भिडियो रिपोर्टसहित)

३० जेठ २०७९ जनकपुरधाम । अहिले फलको राजा आँप बागबानीदेखि बजारसम्म लटरम्म देख्न पाइन्छ । तराईका जिल्लामा चैतमा फूल्न थाल्ने र असार महिनाको शुरुवातदेखि पाक्ने यसको प्राकृतिक चक्र हो । तर बजारमा समय अगाबै पाकेका आँप पाउन मुस्किल छैन । बोटमा नपाक्दै विषादी प्रयोग गरेर पकाइएको आँपले बजार कब्जा गरेको छ ।

मधेस प्रदेशलाई आँपको भण्डार पनि भन्ने गरिन्छ । देशका मुख्य शहरमा यसै प्रदेशबाट आँप पुग्ने गर्छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्र होइन, यहाँका ग्रामीण क्षेत्रका हाटबजारमा समेत अहिले आँप व्यापक विक्री भइरहेको छ । तर अहिले पाइने गरेको आँपको प्राकृतिक स्वादमा फरकपन मात्र होइन स्वास्थ्यकै लागि हानिकारक हुन्छ ।

चिकित्सकका अनुसार समय अगावै कार्वाइडसहितका विभिन्न विषादी छरेर तयार गरिने यस्ता आँपले दीर्घकालिन रोग निम्त्याउने गर्छ ।

विषादी प्रयोग भएको आँप खाँदा बालबालिकालाई तत्काल बान्ता हुने, टाउको दुख्ने समस्या देखिन सक्ने, स्नायु, मानसिकसहितका समस्याहरु निम्त्याउने चिकित्सकको भनाइ छ । विषादी प्रयोग भएका आँप हानिकारक रहेको थाहा हुँदाहुदै पनि सर्वसाधारणले सहजै आँप किनेर प्रयोग गरिरहेका हुन्छन् ।

यसअघि कार्वाइड हालेर चार पाँच दिनमा पकाउने आँपलाई अहिले किपोन नामक विषादी स्प्रेमार्फत आँप एक दुई दिनमै पकाइन्छ । किपोनको प्रयोगले आँपको साइज पोटिलो र आकर्षक पनि बनाउने हुँदा कृषकले आँप बगानमै यसको प्रयोग गर्न थालेका छन् ।

एक महिनाबाटै पाकेको आँपको विक्री शुरु भएको हो । दैनिक करिव डेढ सय किलो आँप बेच्ने गरेको खुद्रा तथा थोक व्यवसायी बताउँछन् । बजारमा फाट्टफुट रुपमा प्राकृतिक रुपमै पाकेको आँप पनि आउन थालेको छ ।

अहिले नेपालको बजारमा भारतबाट समेत आँप आयात हुन थालेको छ । तराई मधेसमा नास्ता, खानासहित व्यापक रुपमा प्रयोग हुने आँप विषादीयुक्त हुनु स्वास्थ्यमै चरम लापरवाही हो । खुल्लेआम यस्ता आँप विक्री वितरण हुँदासमेत अनुगमनमा नियामक निकायले चासो देखाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *