अमेरिका भ्रमणबारे प्रधानमन्त्रीसँग संसदीय समितिले जानकारी लिने
![अमेरिका भ्रमणबारे प्रधानमन्त्रीसँग संसदीय समितिले जानकारी लिने](https://www.himalayatv.com/wp-content/uploads/2022/02/deuwa-1.jpg)
३० जेठ २०७९ काठमाडौं । अमेरिका भ्रमणका विषयमा जानकारी लिन संसदीय समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ ।
आज सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले परराष्ट्र नीति कार्यान्वयनको विषयमा छलफल गर्न परराष्ट्र मन्त्री र प्रधानमन्त्रीलाई समितिमा बोलाउने निर्णय गरेको समिति सभापति पवित्रा निरौला खरेलले बताउनुभयो ।
उहाँले समितिको बैंठकमा परराष्ट्र नीति कार्यान्वयको विषयमा छलफलको शुरुवात गरेको बताउनुभयो । सभापति निरौला खरेलले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण लगायतका विषयमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीलाई समितिको बैठकको छलफलमा बोलाउने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ आज हामीले अत्यन्तै गम्भिर छलफल गर्यौं र केही विषय टुङ्गोमा पुग्न सकेको छैन । परराष्ट्र नीति कार्यान्वयनको सन्दर्भमा बैठक शुरुवात गरेका छौं । यो विषयमा सबै माननीय सदस्यहरुले स्पष्ट पार्नु भएको छ । आगामी दिनमा परराष्ट्र मन्त्री र प्रधानमन्त्रीलाई निमन्त्रणा गर्ने भएका छौं । समितिको बैठकमा बोलाएर समितिले व्यापक छलफल गर्ने छ ।’
प्रमुख प्रतिपक्षी दल एमालेले बैठकमा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसदलाई जानकारी गराउन माग गरेका थिए ।
प्रतिक्रिया