Main News

विद्यार्थीले कुट्छन् कलेजका प्राध्यापक, महिनौंसम्म पठनपाठन प्रभावित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ २९ गते २१:२२
विद्यार्थीले कुट्छन् कलेजका प्राध्यापक, महिनौंसम्म पठनपाठन प्रभावित (भिडियो रिपोर्टसहित)

२९ जेठ २०७९ काठमाडौं । नेपालको सबैभन्दा पुरानो क्याम्पसमध्येको काठमाडौंको ठमेलमा रहेको अमृत साइन्स क्याम्पस अहिले पठनपाठन भन्दा पनि प्राध्यापक कुटिएको घटनाका कारण चर्चामा छ ।

जेठ २२ गते एक प्रध्यापकलाई अस्कलमै अध्ययनरत छात्र तथा अनेरास्ववियुका सहसचिवसमेत रहेका पंकज पाण्डेले कुटपिट गरेको घटना बाहिरिएपछि क्याम्पसको शैक्षिकस्तर र विद्यार्थीको अराजकताबारे बहस शुरु भएको छ ।

देशकै पहिलो साइन्स क्यापस, अमृत साइन्स क्याम्पस (अस्कल) ले अहिले अध्ययन र अध्यापनभन्दा पनि विद्रोह, अराजकता र मुद्दामामिलाले गर्दा चर्चा पाइरहेको छ । सर्वसाधारणको सहज पहुँचमा रहेको यो क्याम्पसमा आजभोलि पठनपाठन भन्दा पनि तालाबन्दी र विद्यार्थीसहित प्राध्यापकहरुको हड्ताल नै बढी देखिन्छ । डाक्टर, इन्जिनियर, प्रध्यापक जस्ता जनशक्ति उत्पादन हुनुपर्ने थलोमा विद्यार्थी संगठनका नाममा ठूठे नेताको गतिविधि बढेको देखिन्छ ।

गत जेठ २२ गते क्याम्पसका प्रध्यापक दिवाकर पाण्डेमाथि कुटपिट भयो । क्याम्पसका विद्यार्थी कल्याण समितिका प्रमुखसमेत रहेका पाण्डेलाई त्यहीं अध्ययनरत छात्र तथा अनेरास्ववियूका सह–सचिव समेत रहेका पंकज पाण्डेले कुटपिट गरेका थिए । पीडित पाण्डेले आफूमाथि निर्घात कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्कीसमेत दिएको गुनासो गर्नुभयो ।

बीएसआटीको मेरिट लिस्टको विवादमा विद्यार्थीले प्राध्यापकमाथि कुटपिट गरेका हुन् । ज्ञानको केन्द्रबिन्दू मानिने शैक्षिक थलोमै यसरी प्रध्यापक कुटिनु निन्दनीय रहेको क्याम्पस प्रशासनले जनाएको छ । आफूहरुसँग पूर्वाधार र विभिन्न व्यवस्थापकीय अभावका बीचमा पनि विद्यार्थीका अधिकांश माग सम्बोधन गरे पनि विद्यार्थीले अराजक गतिविधि देखाएको क्याम्पस प्रशासनको आरोप छ ।

क्याम्पस हातामा भएको घटनाबारे कतिपय विद्यार्थीले भने प्राध्यापकले नै झुठा मुद्दा दायर गरेको आरोप लगाउँछन् ।

जेठ २२ गते क्याम्पस हाताभित्र प्रध्यापक कुट्पिटको घटानापछि जेठ २३ गते पीडित पक्षले सोह्रखुट्टे प्रहरीमा जाहेरी दिएको थियो । यो घटनापछि कुटपिटमा संलग्न पाण्डे फरार रहेको पीडित प्रध्यापकको भनाइ छ ।

प्रतिष्ठित शैक्षिक केन्द्र मानिने अस्कलमा विद्यार्थी नेताबाटै भएको अराजक क्रियाकलापपछि अन्य क्याम्पसका प्राध्यापकहरुसमेत त्रासमा देखिन्छन् । शैक्षिक थलो पठनपाठनकै लागि उपभोग गर्नुपर्ने विद्यार्थी नेताले गुण्डागर्दीको अभ्यास गर्ने थलोका रुपमा विकास गर्न खोज्नु निन्दनीय देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *