Main News

कस्तो छ हेटौंडा कपडा उद्योगको हालत ? (भिडियो रिपोर्टसहित)

२०७९ जेठ २९ गते २१:०४
कस्तो छ हेटौंडा कपडा उद्योगको हालत ? (भिडियो रिपोर्टसहित)

२९ जेठ २०७९ हेटौंडा । २०३५ सालबाट सञ्चालनमा आएको हेटौंडा कपडा उद्योग बन्द भएको २२ वर्ष भइसक्यो । तर, हरेक सरकारले हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याउने घोषणा गर्छन् ।

कार्यान्वयन भने कहिले हुन सकेको छैन । यसपटक त सरकारले हेटौंडा कपडा उद्योगले उत्पादन गरेका कपडा सरकारी कर्मचारीले अनिवार्य लगाउन उर्दी नै जारी गर्‍यो । उद्योग चाहीँ कहिले सञ्चालन हुने ठेगान छैन ।

हेटौँडा कपडा उद्योगका लागि यस वर्षको बजेट भाषण नौलो होइन् । यस कपडा उद्योगले १४ बर्षदेखि कति अर्थमन्त्रीको बजेट भाषण सुन्यो, कति पटक सञ्चालन हुने आश्वासन पनि पायो । तर वर्ष फेरिँदा अर्थमन्त्री फेरिनुबाहेक यो कपडा उद्योग सञ्चालनको कुनै प्रक्रिया बढेन।

हेटौंडा कपडा उद्योगलाई सरकारले पहिलो पटक आर्थिक वर्ष २०६५र६६ को बजेटबाट पुनःसञ्चालन गर्ने घोषणा गरेको थियो । त्यसपछि सबै बजेटमा हेटौँडा कपडा उद्योगलाई सञ्चालन गर्ने भनिएपनि कार्यान्वयन हुन सकेको छैन ।

नयाँ मेशिन र भौतिक संरचना पुनः निर्माण गरेर मात्र बन्द उद्योग संचालन गर्न सकिने अवस्था रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौंडाका व्यवस्थापक बताउँछन् ।

बन्द हेटौंडा कपडा उद्योग एक सय ८८ रोपनीमा फैलिएको छ । उद्योगका तीन लाख ५५ हजार स्क्वायर फिटका भवन छन् । वार्षिक क्षमता २३ सय मेट्रिक टन धागो, २ करोड ५० लाख मिटर कपडा उत्पादन क्षमता रहेको उद्योग पुनः संचालनमा आउने सम्भावना निकै कम देखिन्छ । अहिले उद्योग परिसरमा सशस्त्र प्रहरीले आफ्नो क्याम्प खडा गरेको छ । उद्योगका भवन पूर्णरुपमा जिर्ण छन् । मेशिनहरु अधिकांश खिया लागेका छन् भने पानी पर्दा उद्योगका मेशिनहरु पानी चुहिएर भवन भित्रै डुब्ने गरेका छन् ।

आर्थिक वर्ष २०५४ सालबाट उद्योग धरासायी हुने संकेत देखियो । कर्मचारी आन्दोलन सुरु भयो । अस्थिर राजनीतिका कारण एक सरकारले अर्को सरकारले राखेको कर्मचारीलाई निकाल्ने काम भयो । घाटाकै कारण चल्नै नसक्ने अवस्थामा उद्योग पुग्यो ।

अनि सरकारले २०५७ माघ १८ मा मन्त्रिपरिषद् निर्णयमार्फत कामदार र कर्मचारीलाई सामूहिक अवकाश दिएर हेटौंडा कपडा उद्योग बन्दको घोषणा गर्यो । हरेक वर्ष बजेटमा जिर्ण बनेको उद्योगलाई संचालन गर्छु भन्नु भन्दापनि थोरै खर्चमा बन्ने मेशिन मर्मत गरी अत्याधुनिक मेशिन खरिद गरेर मात्र हेटौंडा कपडा उद्योग संचालन गर्नु नै सरकारको बुद्धिमानी हुने जानकार बताउछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *