राजनीति

विश्वविद्यालयले गुण्डा नाइके र आपराधिक गिरोह जन्माउने कारखाना बन्ने खतरा (भिडियो रिपोर्टसहित)

२०७९ जेठ २९ गते २०:५९
विश्वविद्यालयले गुण्डा नाइके र आपराधिक गिरोह जन्माउने कारखाना बन्ने खतरा (भिडियो रिपोर्टसहित)

२९ जेठ २०७९ काठमाडौं । देशकै जेठो र प्रतिष्ठित त्रिभुवन विश्वविद्यालय आफ्नो अस्तित्वरक्षाका लागि संघर्षरत छ । विभिन्न स्वार्थ समूह र संगठनहरुको निरन्तरको तालाबन्दी, आन्दोलन र कतिपय अवस्थामा आपराधिक पृष्ठभूमिका व्यक्तिहरुको हिंसात्मक गतिविधिका कारण त्रिभुवन विश्वविद्यालय अस्तव्यस्त बनेको हो ।

त्रिभुवन विश्वविद्यालयको प्रमुख कार्यालय डिन, रेक्टर र रजिष्टारको कार्यालयमा नेपाल विद्यार्थी संघमा आवद्ध व्यक्तिहरुले विभिन्न बहानामा झण्डै पाँच महिना तालाबन्दी गरे । सत्तारुढ दल कांग्रेसकै भातृ संगठन नेविसंघले गरेको तालाबन्दी केही दिनअघि मात्रै खोल्यो ।

त्यस्तै विश्वविद्यालयमा अध्यापन गर्दै आएका आंशिक प्राध्यापकहरुले पनि विश्वविद्यालयमा डिन, रेक्टर र त्रिवि सेवा आयोगको कार्यालयमा तालाबन्दी गर्दै आएका थिए । तर सो तालाबन्दी आइतबार अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरुले नारा जुलुश गर्दै फोडे ।

सेवा आयोगले लिने परीक्षामा आफूहरु स्वतः उत्तीर्ण हुनुपर्ने र जागिर खाइरहन पाउनुपर्ने लगायतका माग राख्दै आंशिक प्राध्यापकहरुले विश्वविद्यालयमा आन्दोलन गर्दै आएका छन् । तर निरन्तरको तालाबन्दीले गर्दा पठनपाठनमा असर परेको भन्दै अनेरास्ववियुले ताला फोडेको दाबी गरेको छ । समस्या समाधान वार्ताबाट हुनुपर्ने आफ्नो संगठनको मान्यता रहेकाले ताला खोल्न आग्रह गर्दा पनि नसुनेपछि बाध्य भएर ताला फोडिएको अनेरास्ववियूको दाबी छ ।

त्यस्तै अर्को घटक अनेरास्ववियू (क्रान्तिकारी)ले पनि गएको २० गतेदेखि त्रिविकै राजनीतिकशास्त्र र अर्थशास्त्रको केन्द्रीय विभागमा तालाबन्दी गरेको छ । यसपटकको परीक्षामा सोधिएका प्रश्न गत वर्ष सोधिएका प्रश्नसँग हुबहु मिलेको भन्दै अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो । विद्यार्थीहरुको भविष्यमाथि खेलवाड भएको भन्दै तालाबन्दी गर्न बाध्य भएको माओवादी निकट यो विद्यार्थी संगठनको दाबी छ ।

अखिल क्रान्तिकारीको जस्तै नेविसंघको तालाबन्दी गर्न पर्नुको कारण मिल्दोजुल्दो छ । नेविसंघले पनि विश्वविद्यालयमा शैक्षिक अवस्था सुधार गर्नका लागि तालाबन्दी गर्नु परेको दाबी गरेको छ । तालाबन्दी भए पनि विद्यार्थीको पठनपाठनमा भने असर नपरेको संघको जिकिर छ ।

विश्वविद्यालयमा तालाबन्दी मात्रै होइन विद्यार्थीहरुले प्राध्यापकमाथि सांघातिक आक्रमण पनि गर्ने गरेका छन् । केही समय पहिले विश्वविद्यालयका सहप्राध्यापक प्रेम चलाउनेमाथि नेविसंघमा आवद्ध केही व्यक्तिहरुले आक्रमण गरेका थिए । तर उनीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको अग्रसरतामा जेलमुक्त गराउन र मुद्दा फिर्ताका लागि पहल थालेको आरोप लागेको छ ।

यी केही उदाहरण नै प्रयाप्त छन् त्रिविमा मौलाउँदै गएको विकृति र विसंगतिलाई पुष्टि गर्नका लागि । विद्यार्थीको हकहितका लागि भन्दै गठन भएका विद्यार्थी संगठनहरुको आवरणमा विश्वविद्यालयमा अराजक व्यक्ति र समूहहरुको आपराधिक क्रियाकलापका कारण विश्वविद्यालयको पठनपाठन मात्रै प्रभावित भएको छैन विश्वविद्यालयकै अस्तित्व गंभीर संकटमा परेको छ ।

यस्ता गैरजिम्मेवार र आपराधिक क्रियाकलापका कारण उच्च शिक्षा लिनकै लागि भर्ना भएका मध्यम तथा निम्न वर्गीय परिवारका विद्यार्थी सबैभन्दा बढी मारमा परेका छन् । विद्यार्थी संगठन र आवद्ध व्यक्तिहरुको क्रियाकलाप मात्रै नभएर कतिपय प्राध्यापकहरुकै क्रियाकलाप पनि विश्वविद्यालयको छवि धुमिल पार्नका लागि जिम्मेवार छन् । परीक्षामा प्रश्नपत्र दोहोरिनु त्यसैको उदाहरण हो ।

प्राध्यापकहरु विद्यार्थीहरुलाई पढाउन नखोज्ने तर सुविधा खोज्ने, अर्कोतर्फ विद्यार्थीहरु पढन् भन्दा उश्रृंखल गतिविधिमा बढी रमाउने गर्नाले त्रिविको पठनपाठन कमजोर बन्दै गएको छ । बढ्दो बेथिति र अराजकताले दक्ष जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय गुण्डा नाइके र आपराधिक गिरोह जन्माउने कारखाना बन्ने खतरा बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्