राँके–भेडेटार सडकखण्डमा गाडी चलाउन यस्तो सास्ती (भिडियो रिपोर्टसहित)
२९ जेठ २०७९ पाँचथर । पाँचथरको राँकेदेखि धनकुटाको भेडेटार जोड्ने सडकखण्डमा अहिले गाडी चलाउन निक्कै सास्ती छ । हिउँदमा धुलाम्मे हुने यो सडक अहिले वर्षा लागेपछि हिलाम्मे छ ।
जोखिम मोलेर जीपहरु गुदिरहेका छन् । तर वर्षा बढ्दै गएपछि यो सडकमा सवारी चल्न सक्दैन । अनि स्थानीयलाई लामो समयको पैदल हिँड्न बाध्य हुन्छन् ।
पाँचथरको राँकेदेखि धनकुटाको भेडेटार जोड्ने सडक कालोपत्रे गर्नका लागि ठेक्का लागे पनि भारतीय ठेकेदार कम्पनीले काम नगर्दा यो क्षेत्रका बासिन्दाले ठुलो सास्ती बेहोरिरहेका छन् । अहिले यो क्षेत्रमा जोखिम मोलेर सवारी चलाउनुपर्छ ।
पाँचथर, इलाम, धनकुटाका विभिन्न गाउँ छोएको १ सय किलोमिटर लामो सडकखण्ड वर्षाको कारण हिलाम्मे भएको छ । सडकमा गाडी गुड्ने अवस्था नहुँदा यस क्षेत्रका बासिन्दा पैदल हिँड्न बाध्य छन् । वर्षा शुरु भएसँगै सडकको पिरलोले सताउने गरेको छ । बिरामी अस्पताल लैजानसमेत समस्या छ ।
पाँचथर दक्षिण क्षेत्रका फाल्गुनन्द, मिक्लाजुङ, इलामका देउमाई, फाफोकथुम, माङ्सेबुङ र धनकुटाको चौबेसे, साँगुरीगडी लगायतका स्थानीय तहको दैनिकी र भविष्यसँग जोडिएको यो सडक २०७५ पुसमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो ।
तीन करोड २६ लाख १८ हजार अमेरिकी डलरमा २०७५ मंसीरमा कालोपत्रेका लागि भारतीय कम्पनीलाई ठेक्का दिइएको थियो । ३६ महिनाभित्रमा कालोपत्रे सक्ने गरी भारतीय ठेकेदार कम्पनी एफको इन्फ्राको प्रालीसँग ठेक्का सम्झौता भएको थियो ।
गत डिसेम्बरमा तीन वर्ष छ महिनाको म्याद सकिएर १ वर्ष समय थप गरिए पनि कामले गति पाएको छैन । सडक बन्ने खबरले खुशी भएका यस क्षेत्रका नागरिक भारतीय कम्पनीको हेपाहा प्रवृत्तिका कारण निराश छन् ।
ठेकेदार कम्पनीले एक वर्ष थपिएको म्याद पनि डिसेम्बरमा सकिँदै छ । तर यो सडक आयोजनाको कालोपत्रेको काम केवल १८ प्रतिशत मात्र सम्पन्न भएको छ । मेची राजमार्गमा पर्ने पाँचथरको राँके बजारबाट घुर्विसे पन्चमी, दशमी, रवि, लेखगाँउ, ६ नम्बर बुधवारे, डाँडाबजार, सौर्य, राजारानी हुदैँ भेडेटारसम्म जोडिन्छ ।
भारतीय ठेकेदार कम्पनीले काम होल्ड गरिदिँदा यो क्षेत्रका बासिन्दाले ठुलो सास्ती भोग्नु परेको छ । यो सडकको कालोपत्रेको कामलाई गति दिन र चाँडै सम्पन्न गर्नका लागि संघीय सरकार र राजनीतिक नेतृत्व गम्भीर भएर लाग्नु पर्ने देखिन्छ ।
प्रतिक्रिया