प्रधानमन्त्री देउवा राष्ट्रघाती भएको एमाले सांसदहरुको आरोप (भिडियो रिपोर्टसहित)
रावलको प्रश्न देउवा सातौंपटक प्रधानमन्त्री भए नेपाल रहला ?

२९ जेठ २०७९ काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रघाती भएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा सांसद भीम रावलले देउवाले सरकारको नेतृत्व गर्दा हरेक पटक राष्ट्रघाती काम गर्ने गरेको आरोप लगाउनुभयो । उहाँले देशका ठूला आयोजना धमाधम विदेशीलाई सुम्पिएको बताउनुभयो ।
उहाँले देउवाकै पालामा महाकाली भारतलाई बेचिएको बताउँदै पाँचौ पटक प्रधानमन्त्री हुँदा पनि नदीनाला बेच्न नछाडेको आरोप लगाउनुभयो । उहाँले सेती जलविद्युत आयोजना भारतलाई दिने निर्णयबारे प्रश्न उठाउनुभयो ।
सांसद रावलले एमसीसी अनुमोदनका बेला व्याख्यात्मक घोषणाबारे पत्राचार भए नभएको संसदलाई जानकारी गराउन माग पनि गर्नुभयो ।
एमालेकै अर्का सांसद खगराज अधिकारीले प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदा दिल्लीस्थित नेपाली दूतावासमा चुच्चे नक्सा हटाएको आरोप लगाउनुभयो । यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उहाँले माग गर्नुभयो ।
यस्तै सांसद खगराज अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप हराएको उल्लेख गर्दै त्यसको जवाफ दिन पनि सरकारसँग माग गर्नुभयो ।
पूर्वस्वास्थ्यमन्त्री समेत रहेका अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप सरकारले कमिशन लिएका कारण हराएको आशंका गर्दै त्यसबारे संसदमा यथार्थ जानकारी गराउन सरकारसँग माग गर्नु भयो ।
प्रतिक्रिया