Main News

एमसीसी : अमेरिकाले स्वीकार गरेकै हो त व्याख्यात्मक टिप्पणी ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ २८ गते २०:३०
एमसीसी : अमेरिकाले स्वीकार गरेकै हो त व्याख्यात्मक टिप्पणी ? (भिडियो रिपोर्टसहित)

२८ जेठ २०७९ काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) संसदबाट व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गर्दा यो व्याख्यालाई अमेरिकाले स्वीकार गर्ला त भन्ने प्रश्न उब्जिएको थियो । सत्तारुढ पाँच दलीय गठबन्धनभित्र विवाद बढेपछि तयार गरिएको व्याख्यात्मक टिप्पणीका विषयमा अमेरिकाको कुनै औपचारिक प्रतिक्रिया आएको छैन । तर अमेरिकी भ्रमण चाहीँ बाक्लिएको छ, के अमेरिकाले व्याख्यात्मक टिप्पणी स्वीकार गरेको हो त ?

अमेरिकी अनुदान सम्झौता (एमसीसी)बारे सत्तारुढ दलहरु नै विभाजित भएका बेला व्याख्यात्मक टिप्पणीको साहरामा यसलाई गत फागुन १५ गते संसदबाट अनुमोदन गरिएको थियो ।

पाँच दलीय सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कुनै पनि हालतमा यही अवस्थामा एमसीसी पारित गर्न नदिने भन्दै सडक र संसदमै विरोध गरेपछि व्याख्यात्मक टिप्पणीको साहरा लिइएको थियो । यो व्याख्यात्मक टिप्पणीलाई कतिपयले माओवादी केन्द्र र एकीकृत समाजवादीको लाज ढाक्ने बर्कोको रुपमा विश्लेषण गरिरहँदा यी दल आफैले भने व्याख्यात्मक टिप्पणीले देशलाई दुर्घटनाबाट जोगाएको दाबीसमेत गरे ।

एमसीसी अमेरिकी हिन्द–प्रशान्त रणनीतिअन्तर्गतको परियोजना रहेकाले यसलाई जस्ताकोतस्तै पारित गरिए नेपाल पनि हिन्द प्रशान्त रणनीतिकै अंग बन्ने भन्दै गगनभेदी आवाज निकाल्नेहरु व्याख्यात्मक टिप्पणीलाई संकट व्यवस्थापनका रुपमा परिभाषित गर्न तयार भए ।

संसदमा एमसीसीमाथि अनेक आशंका व्यक्त गरेर पार्टी कार्यकर्तालाई सडकमै उतारेको माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गरेपछि चुप मात्रै लागेन, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार सम्मेलन नै गरेर देश दुर्घटनाबाट जोगिएको जिकिर गर्नुभयो ।
त्यति नै बेला कतिपयले व्याख्यात्मक टिप्पणीलाई अमेरिकाले चिन्छ त भन्ने प्रश्न गम्भीर रुपमा उठाएका थिए ।

एमसीसी पारित हुनासाथ नेपालले रातारात मुहार फेर्ने वा अमेरिकी सेना आइहाल्ने दुवै नारा क्षणभरमै विस्मृतिमा गइसके । तर लाखौँ चिन्तकहरुको आँखाको कालोपट्टी बन्न सफल भएको व्याख्यात्मक टिप्पणी वास्तवमा अमेरिकाले चाहीँ स्वीकार गरेको हो वा होइन भन्ने प्रश्न भने अझै बाँकी छ ।

एमसीसी सम्झौता संसदमा पेश हुँदै गर्दा यसमा नेपालको रुचिभन्दा धेरै अमेरिकी दबाब प्रतित भइरहेको थियो । त्यसैले विश्लेषक दाहालले भनेजस्तै पास हुनु थियो, अमेरिकाले पास भएको चाहीँ स्वीकार गरेको छ । अब व्याख्यात्मक टिप्पणीपछि एमसीसीको बाटो भएर आउने डलर मात्र देश भित्रिन्छ, अरु सबै कुरा व्याख्यात्मक टिप्पणीले फिल्टर गर्छ भन्नेहरुले चाहीँ पछिल्लो समय बढेको अमेरिकी भ्रमणलाई कुन चस्मा लगाएर हेरिरहेका छन् त ?

फागुन १५ गते एमसीसी अनुमोदन भएपछि अमेरिकी अधिकारीहरुको भ्रमण बाक्लिएको छ । त्यसो त एमसीसी अनुमोदनको चर्को बहस चलिरहेका बेला समेत अमेरिकाबाट लगातार नेपाल भ्रमण र नेपालमाथिको चासो बढेको थियो । एमसीसी पास भएपछि पनि अमेरिकी उपमन्त्री उज्रा जियाले नेपाल भ्रमण सकेलगत्तै सैन्य जनरल चाल्र्स ए फ्लिनको भ्रमण भएको छ ।

केही दिनमा प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका जाने चर्चा भइरहेको छ भने प्रधानसेनापति प्रभुराम शर्माको भ्रमण टुंगो लागेको छ । तर विश्लेषक दाहाल भने यी भ्रमणलाई एमसीसीसँग जोडेरभन्दा पनि नेपाल–अमेरिकाबीच दौत्य सम्बन्ध स्थापनाको ७५औँ वर्षगाँठ अनि योबीचमा कोभिडका कारणले जाम भएको कुटनीतिक भ्रमण खुलेको रुपमा व्याख्या गर्नुहुन्छ ।

बाघ कराउनु र बाख्रो हराउनु सँगै भए पनि दालभित्रको कालोमा भने आँखा चिम्लीहाल्न सजिलो छैन । तर दौत्य सम्बन्ध वा पारस्परिक हितका विषयमा भ्रमण आदान प्रदान भइरहेको हो भने पनि गत वर्ष लामै समय लगाएर गिजोलिएको एमसीसी र त्योसँग जोडिएको अमेरिकी सैन्य रणनीतिको आशंकाबारे भने नागरिकलाई संसदबाटै जवाफ चाहिएको छ । अझ संसदमा व्याख्यात्मक टिप्पणीमाथिकै व्याख्या गर्नेहरुबाट त्यस्तै व्याख्यासहितको जवाफ अपेक्षित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *