समाज

मर्स्याङदी ड्याम प्रभावितको माग: हामीलाई स्थानान्तरण गरिदेऊ (भिडियो रिपोर्टसहित)

२०७९ जेठ २७ गते २१:१५
मर्स्याङदी ड्याम प्रभावितको माग: हामीलाई स्थानान्तरण गरिदेऊ (भिडियो रिपोर्टसहित)

२७ जेठ २०७९ तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ र २ को पृथ्वी राजमार्ग वरपरको क्षेत्रमा १४ घर सहित झण्डै ५० रोपनी जमिन मर्याङ्दी ड्यामको कटानका कारण खतरामा छ ।

स्थानान्तरण र मुआब्जा जस्ता माग राख्दै प्रभावित क्षेत्रका बासिन्दाले संघर्ष समिति तयार गरी आन्दोलन समेत गरिरहेका छन् । तर, त्रासमा जीवन बिताइरहेका स्थानीयको माग सम्बोधन भएको छैन ।

स्थानीयहरुले खतरायुक्त घर परिवारहरुको जग्गा अधिग्रहण गरी मुआब्जा दिनुपर्ने माग गरेका छन् ।

उनीहरुले संघर्ष समिति गठन गरी चरणबद्ध आन्दोलन समेत शुरु गरेका छन् । करोडौं लगानी गरेर राजमार्ग छेउमा व्यापार गर्ने उद्देश्यले निर्माण गरिएका घरहरु मर्स्याङ्दी ड्यामको कटानले गर्दा भत्किने, चर्किने, बस्नै नमिल्ने भएको स्थानीयको गुनासो छ ।

आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ मा १४ वटा घर, १ सय ६० आना जमिन र वडा नम्बर २ मा ३६ रोपनी जमिन खतरामा परेको मर्स्याङदी जल उत्पन्न प्रकोप संघर्ष समितिले जनाएको छ ।

स्थानान्तरण गर्नुपर्ने वा मुआब्जा दिनुपर्ने माग गरिरहेका स्थानीय मर्स्याङ्दी जलविद्युत आयोजनालाई पटक पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको गुनासो गर्छन् ।

ड्याम कटानकै कारण हालसम्म ७ जनाको ज्यान गइसकेको छ । मानवीय तथा भौतिक क्षति रोक्न अनुगमन गरी क्षतिको मूल्याङ्कन गर्ने काम भइसकेको स्थानीय पालिकाले जनाएको छ ।

ड्याम क्षेत्रका बासिन्दाहरुलाई मुआब्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न मन्त्रालयमा फाइल पेश गरिसकेको पालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *