Main News

माननीयहरु यसरी हाजिर गर्दै टाप कस्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ २७ गते २१:०७
माननीयहरु यसरी हाजिर गर्दै टाप कस्दै (भिडियो रिपोर्टसहित)

२७ जेठ २०७९ काठमाडौं । प्रतिनिधि सभाको बजेट अधिवेशन जारी छ । सरकारले जेठ १५ गते बजेट पेश गरेपछि प्रतिनिधि सभामा सांसदहरुले नियमित छलफलमा भाग लिँदै आएका छन् । तर, आफ्नो बोल्ने पालोमा बाहेक सांसदहरु सदनको छलफलमा बस्दैनन् ।

उनीहरु हाजिर गर्न भने छोड्दैनन् । दैनिक २ हजार रुपैयाँ भत्ता पाउने भएपछि हाजिर किन छाड्ने ? संसदको गरिमा राख्दै छलफलमा भाग लिनुपर्ने सांसदहरु हाजिर गर्छन् अनि टाप कस्छन् । त्यसैले बैठकस्थल सधैंजसो खाली देखिने गरेको छ ।

प्रतिनिधि सभाको बैठक कक्ष । यी खाली कुर्सीहरुले प्रतिनिधि सभाका सांसदहरु कति गैरजिम्मेवार छन् भन्ने प्रष्ट पार्छ । कुल २७५ सांसदमध्ये पछिल्लोपटक रहेका २ सय ७१ । त्यसमध्ये निलम्बित ४ जना, बाँकी रहे २ सय ६७ ।

सांसदको काम संसद बैठकमा सहभागी हुने, कानुन बनाउने, जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने । फेरि राजनीति भनेको समाजसेवा भए पनि सांसद तलबी जागिर हो । तलब बाहेक सांसदले हरेक बैठक बसेको दिनको भत्ता र यातायात खर्च पनि पाउँछन् ।

जेठ ३ गतेबाट शुरु भएको बजेट अधिवेशनमा अहिलेसम्म २० वटा बैठक बसेका छन् । यी सबै बैठकमा सांसदहरुको हाजिरी ७५ प्रतिशत भन्दा माथि छ । यो तथ्य सुन्दा तपाईँलाई कति अनुशासित सांसद भनेर भ्रम हुन पनि सक्छ । होइन, यो उपस्थिति भत्ता बुझ्ने हाजिरी कपीमा मात्र हो । सांसद त कि व्यक्तिगत काममा, नभए भाषणमा मस्त । तर भत्ता बुझ्न हाजिरी गर्न भने सांसद हस्याङफस्याङ गर्दै पुगेका हुन्छन् ।

अब हेरौं बजेट भाषण गर्ने दिनको उपस्थिति । जेठ १५ गते २३९ सांसदले हाजिर गरेका थिए ।

यो दृश्य त्यसपछि बसेका बैठकको
जेठ १७ गते २२७ सांसदको हाजिर गरेका छन ।
जेठ १८ गते २१२
जेठ १९ गते २१६
जेठ २० गते २१०
जेठ २३ गते २०३
जेठ २४ गते २०९
जेठ २५ गते २०६
जेठ २६ गते २०५
यसरी हेर्दा प्रत्येक बैठकमा २ सय जनाभन्दा बढी सांसदहरुले हाजिर गरेका छन् । तर सभाकक्षका कुर्सी भने बजेट पछिका बैठकमा खाली छन् । कतिपय उपस्थित सांसद पनि घरमा निद्रा नपुगेर एसी कोठामा सुत्न आएजस्ता ।

प्रतिनिधि सभा बैठक ११ बजेबाट शुरु हुन्छ । बोल्ने पालो भएको सांसद आएर बोल्न थाल्छन् भने बोल्ने पालो नभएका सांसद हाजिर गर्ने स्थानसम्म पुग्छन् हाजिर गर्छन् अनि लुसुक्क भाग्छन् ।

किन हाजिर गर्न कै लागि जान्छन् सांसद ?
हाजिर गरेपछि सांसदको प्रत्येक बैठकको विना काम २ हजार भत्ता पाक्छ । १ हजार भत्ता र १ हजार गाडी भाडागरी प्रति दिन दुई हजार विना काम हजम । सांसदहरु जहाँ जस्तो हालतमा भएपनि सदन चलेको दिन हाजिर गर्न संघीय संसद भवन छिर्नुको रहस्य यही हो । प्रत्येक बैठकको २ हजारका दरले जेष्ठमा मात्र प्रति सांसदले राज्य कोषबाट ४० हजार हजम गरिसकेका छन् ।

बहस गर्ने सांसदहरु बहस गर्छन् नहुने हाजिर गरेर टाप कस्छन् ।पैसाकै लागि लाजै पचाएर हाजिर गर्न भएपनि संसद भवन पुग्छन् सांसद ।

हाजिर गर्दा २ सयभन्दा बढी हुने गरेपनि कुर्सीमा बस्ने सांसद कहिले १३, १५, २० जना मात्र हुने गरेका छन् । उता पत्रकारका अघि संसद सचिवालय लाज छोप्न भगीरथ प्रयास गर्छ र भन्छ खाली कुर्सी सकेसम्म नदेखाउनुस् है । २ हजारको लोभमा र्‍याल चुहाउने नेताले जनताका लागि के काम गर्लान् ? जनताले तिरेको करबाट भत्ता लिनकै लागि हाजिर गर्न मरिहत्ते गर्ने सांसदबाट जनताले के आशा गर्ने ? यसैका लागि जनताले आफनो अमूल्य मत दिएका हुन त ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *