Main News

दुई दिन बिदाको निर्णय : सरकार सधैँ अपरिपक्व (भिडियो रिपोर्टसहित)

२०७९ जेठ २४ गते २१:३०
दुई दिन बिदाको निर्णय : सरकार सधैँ अपरिपक्व (भिडियो रिपोर्टसहित)

२४ जेठ २०७९ काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा महँगो भइरहेको इन्धनको खपत घटाउन र अर्थतन्त्रलाई सुधार गर्न दुईदिन सार्वजनिक बिदा दिने निर्णय सरकारले गर्‍यो । सरकारको यो निर्णयको चौतर्फी विरोध भयो । सरकारले हालै मात्र आफ्नो निर्णय उल्टाएको छ । अर्थात असार १ गतेबाट आइतबारको बिदा खारेज भएको छ ।

वैशाख १३ गतेबसेको मन्त्रिपरिषद् बैठकले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुईदिन सार्वजनिक बिदा दिने निर्णय गर्‍यो । अन्तर्राष्ट्रिय बजारमा महँगिएको इन्धनको खपत कम गर्न र आर्थिक संकट घटाउन दुई दिन बिदा दिने निर्णयमा सरकार पुगेको थियो ।

यो एक महिनामा सरकारले सोचे जस्तो इन्धनको खपत पनि कम हुन सकेन न त आर्थिक संकट समाधानमै कुनै उपलब्धि हुन सक्यो । दुईदिन बिदाको चर्को आलोचना भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले असार १ गतेबाट आइतबारको बिदा हटाउने निर्णय गरेको छ । बिना अध्ययन, बिना प्रभावकारिता र मनलाग्दी निर्णय गरेकै कारण सरकार एक महिना पनि आफ्नो निर्णयमा टिक्न नसकेको हो ।

दुई दिन बिदा हुँदा कार्यालय समय बिहान साढे नौ बजेदेखि साँझ साढे पाँच बजेसम्म थियो । सरकारी कामबाट सामान्य अवस्थामा समेत सहजता नपाएका आम नागरिकले दुईदिनको विदाबाट थप आहत पाए । कर्मचारीलाई दुई दिनको बिदा हुँदा समेत कुनै प्रभावकारी काम हुन सकेन ।

अन्तर्राष्ट्रिय रुपमै पेट्रोलियम पदार्थको मुल्य बढ्दा खपत घटाउनका लागि भनेर दुई दिनको बिदा गर्ने निर्णय थियो । अर्को अर्थतन्त्रमा विदेशी सञ्चिती घट्दै गएका कारण समेत इन्धन खपत गरेर रकम बचत गर्न सकिने योजना अनुरुप निर्णय गरिएको थियो । यी दुबै असफल भएपछि सरकारको निर्णय हुचुवाकै भरमा आएको देखिन्छ ।

सातामा एक दिन बिदा थप गर्दा आन्तरिक पर्यटन बढ्ने, इन्धन, खपत घट्नेदेखि ट्राफिक समस्यासमेत समाधान हुने पटक–पटक बहस हुँदै आएको छ । तर, बिना अध्ययन र औचित्य पुष्टि हुन नसक्दा सरकारका यस्ता हचुवा निर्णय कमजोर हुँदै जान्छ । यसअघि पनि २०५६ सालमा समेत तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको कार्यकालमा दुई दिन सार्वजनिक बिदाको अभ्यास गरिएको थियो ।

तर दुई वर्षपछि अहिलेकै प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त निर्णय खारेज गर्नुभएको थियो । केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले पनि पर्यटन बढाउनभन्दै दुई दिनको विदा प्रस्ताव गर्नुभएको थियो । कतिपय मुलुकमा प्रभावकारी बनेको दुईदिने विदा नेपालमा प्रयोग गर्न विशेष अध्ययन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *