समाज

धनुषामा टेलिकमको तार चोरी, आफ्नै दाजुले दिए उजुरी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ २४ गते १८:२१
धनुषामा टेलिकमको तार चोरी, आफ्नै दाजुले दिए उजुरी (भिडियो रिपोर्टसहित)

२४ जेठ २०७९ धनुषा । जनकपुर टेलिकमको पोल तथा तार दुरुपयोग भएको खुलेको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ५ का कमलेश यादवले टेलिकमको तार चोरी गरेको खुलेको हो ।

नेपाल टेलिकममा काम गर्दै आएका कमलेसका दाजु गणेशप्रसाद यादवले अख्तियारमा उजुरी गरेसँगै घटना बाहिर आएको हो ।

नेपाल टेलिकमको जनकपुरधामस्थित कार्यालयका प्राविधिक सहायक अधिकृत गणेशप्रसाद यादवले आफ्नै भाइ कमलेश यादवविरुद्ध अख्तियारमा मुद्दा दायर गर्नुभयो । मुद्दाको विषय थियो, नेपाल टेलिकमको सामान चोरी तथा दुरुपयोग ।

अख्तियार दुरुपयोग आयोगले नेपाल टेलिकमलाई विषय बारे बुझ्न पत्र पठायो । नेपाल टेलिकमको केन्द्रीय कार्यालयले धनुषा कार्यालयलाई विषय बुझ्न निर्देशन दियो । धनुषा कार्यालयले जिन्सी सामानको अवस्था बुझ्दा चोरी भएको पत्ता लाग्यो र प्रहरीलाई कारबाही गर्न पत्र लेख्यो ।

पोल र तारसहितको सरसामान चोरी गरेर विद्युत लाइन जडान गरी सिँचाईका लागि बोरिङ चलाएको स्थानीय बताउँछन् ।

बोरिङ चलाएर आफ्नो र गाउँलेको खेत सिंचाई गरेको र सिंचाईमार्फत गाउँलेसँग रकम लिने गरेको स्थानीय बताउँछन् । गाउँलेले निरन्तर गुनासो गरेपछि आफूले अख्तियार तथा टेलिकमको वीरगंज, धनुषा र केन्द्रीय कार्यालयमा उजुरी गरेको दाजु गणेशप्रसाद यादव बताउँनुहुन्छ ।

उजुरी प्रक्रिया अघि बढाएको थाहा पाएपछि कमलेशले आफ्नी श्रीमतीलाई पठाएर उक्त पोल निकाल्दै गरेको प्रहरीले फेला पारेको थियो ।

गणेशको अग्रसरता र उजुरीपछि टेलिकमको सरसामान चोरी भएको खुल्यो । अहिले प्रहरीले चोरी कहिले भएको हो भन्दै टेलिकमलाइ पत्र पठाएको छ ।

सायद उजुरी नभएको भए टेलिकमले आफ्नो सामान कहाँ कसरी प्रयोग भएको छ भन्ने पत्तै पाउने थिएन । सरकारी कार्यालयको यस्तो लापरबाहीले सरकारी सम्पत्ति चोरी तथा दुरुपयोग हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *