Main News

इम्बोस्ड नम्बर प्लेट जडान ताकेता : कार्यान्वयन नगर्नेलाई कारबाही (भिडियो रिपोर्टसहित)

२०७९ जेठ २३ गते २१:१०
इम्बोस्ड नम्बर प्लेट जडान ताकेता : कार्यान्वयन नगर्नेलाई कारबाही (भिडियो रिपोर्टसहित)

२३ जेठ २०७९ काठमाडौं । यातायात व्यवस्था विभागले आगामी साउन १ गतेदेखि इम्बोस्ड नम्बर अनिवार्य गर्ने तयारी गरेको छ । इम्बोस्ड नम्बरका लागि आवश्यक पूर्वाधार बनाउन नसकेको विभागले सेवाग्राहीलाई भने निर्णय कार्यान्वयन नगरे गाडी जफत गर्नेसम्मको चेतावनी दिएको छ ।

यातायात व्यवस्था विभागले बाग्मती र गण्डकी प्रदेशमा मंसिर १ गतेयता दर्ता भएका, फागुनदेखि नामसारी भएका र जेठ १ गतेयता नवीकरण भएका सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर जडान गर्न उर्दी जारी गरेको छ ।

साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र इम्बोस्ड नम्बर जडान नगरिएको पाइए प्रचलित ऐन कानूनअनुसार ६ महिनासम्म कैद, पाँच हजार रुपैयाँ जरिवानाका साथै सवारी साधन जफत गर्नेसम्मको चेतावनी विभागले दिएको छ । इम्बोस्ड नम्बरमा जर्वजस्ती गरेपछि विभागको आलोचना शुरु भएको छ ।

आवश्यक भौतिक पूर्वाधार निर्माण विना र धेरै सवारी साधनमा इम्बोस्ड नम्बर नै जडान नभएको अवस्थामा अनिवार्य गर्दा सेवाग्राही मर्कामा पर्ने भन्दै कतिपयले ठाडो निर्देशन गर्ने विभागको नियतमाथि नै प्रश्न उठाएका छन् । तर यातायात व्यवस्था विभागले भने इम्बोस्ड नम्बर जडान गर्नका लागि आरएफआइडी डिभाइस लगायतका भौतिक पूर्वाधार अनिवार्य नभएको दाबी गर्छ ।

इम्बोस्ड नम्बर जडान शुरु गरिएको सात वर्ष भए पनि अदालतमा मुद्दा परेपछि इम्बोस्ड जडानको प्रक्रिया रोकिएको थियो । अहिले अदालतबाट इम्बोस्ड नम्बर प्लेट जडानको काम अघि बढाउन बाटो खोलिएपछि सरकारले पुन इम्बोस्ड नम्बर प्लेट जडानलाई प्राथमिकता दिएको हो ।

आगामी १५ महिनाभित्र २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर जडान गरिसक्ने दाबी गरिरहेको विभागले अहिलेसम्म जम्मा २५ हजारको संख्यामा मात्रै इम्बोस्ड नम्बर जडान गर्न सकेको छ । त्यसमा पनि धेरै जसो सवारी साधन सरकारी रहेको विभागकै भनाइ छ । आगामी १५ महिनामा २५ लाखको संख्यामा इम्बोस्ड नम्बर जडान गर्ने दाबी गर्दै आएको विभाग नै निर्धारित मितिमा लक्ष्य पुरा हुनेमा विश्वस्त देखिँदैन ।

इम्बोस्ड नम्बर जडानको ठेक्का दिएको बंगलादेशी र अमेरिकी डेकाटुर टाइगर ज्वाइन्ट कम्पनीको म्याद १६ महिना मात्रै बाँकी रहेकाले विभाग अहिले तातिएको देखिन्छ । अहिलेसम्म २ लाख ५० हजार नम्बर प्लेट मात्रै छापिएको छ । कम्पनीसंग २ हजार ७३ साल जेठ १७ गते पाँच वर्ष भित्रमा सक्ने गरी २५ लाख इम्बोस्ड नम्बर छपाईको जिम्मा दिइएको थियो ।

४ अर्ब ६८ करोड ५२ लाख ६२ हजार पाँच सय रुपैयाँमा ठेक्का दिइएको थियो । इम्बोस्ड नम्बर जडानका लागि चार पाँग्रेलाई ३६ सय रुपैयाँ र दुई पाँग्रे सवारी साधनलाई २५ सय रुपैयाँ खर्च गर्नु पर्छ जसमध्ये ३० प्रतिशत जति रकम राजस्वको रुपमा सरकारी खातामा जाने विभागको भनाइ छ ।

यो रकम ३ अर्ब ५० करोड रुपैयाँको हाराहारीमा हुने विभागले जानकारी दिएको छ । इम्बोस्ड नम्बर प्लेट जडान गर्दा लाग्ने खर्च पनि महंगो भएको गुनासो आएको छ । तर अहिले गुनासो गर्ने उचित समय नभएको विभागका महानिर्देश्क नमराज घिमिरेको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *