Main News

सवारी साधनमा इम्बाेस्ड नम्बर प्लेट लगाउँदा के फाइदा हुन्छ ? (भिडियो रिपोर्टसहित)

२०७९ जेठ २३ गते २१:०४
सवारी साधनमा इम्बाेस्ड नम्बर प्लेट लगाउँदा के फाइदा हुन्छ ? (भिडियो रिपोर्टसहित)

२३ जेठ २०७९ काठमाडौं । यातायात व्यवस्था विभागले साउन १ गतेबाट यातायातमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने जनाएको छ। के हो इम्बोस्ड नम्बर प्लेट ? सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लगाउँदा के फाइदा हुन्छ ?

इम्बोस्ड एक प्रकारको डिजिटल नम्बर प्लेट हो । विश्वका धेरै मुलुकमा इम्बोस्ड नम्बर प्रयोगमा आएको छ। यो नम्बर प्लेटमा आरएफआइडी प्रविधि जडान गरिएको हुन्छ । यो प्रविधि जडान गरिएको सवारीसाधन कुन स्थानमा पुग्यो भन्नका लागि आरएफआइडी गेट बनाइन्छ र सोही गेटमा अटोमेटिक डिटेक्ट भएर सवारीसाधनको तथ्यांक सुरक्षित हुन्छ ।

यो नम्बर प्लेट मेसिनबाटै तयार भएर आउँछ । कम्तीमा १० वर्षको आयु हुने यो नम्बर प्लेट सामान्य नम्बर प्लेटभन्दा बलियो र किफायती हुन्छ। विभिन्न नाकामा राखिएको आरएफआइडी गेटमा पुग्ने बित्तिकै २ सय मिटर टाढाको सवारीसाधन पनि आफैँ डिटेक्ट भई डाटा सेन्टरमा बस्ने भएका कारण यो सवारीसाधन कहाँ पुग्यो वा कहाँबाट कहिले कहाँ निस्कियो भन्ने जानकारी सहजै प्राप्त हुन्छ । यसले गर्दा यो नम्बर जडानपछि सवारीसाधन हराउने समस्या समाधान हुने विश्वास गरिन्छ । जडान गरेपछि झिक्न नमिल्ने भएको कारण पनि ती सवारीसाधन नहराउने विश्वास गरिएको हो ।

त्यस्तै हाल जडान गरिएका नम्बर प्लेटहरू रातको समयमा देख्न नसकिने समस्या रहेकामा इम्बोस्ड नम्बर प्लेट भने झन्डै २०० मिटरको दूरीमा समेत प्रकाशमा टल्किएर देखिने गर्छ ।

९९ प्रतिशत आल्मोनियमबाट बनेको यो नम्बर प्लेटमा रेट्रो रिफ्लेक्टिभ सिट लेमिनेट गरिएको र उक्त प्लेट अन्तर्राष्ट्रियस्तरको हुन्छ। यसको कडापन एच ४१ र एच ४२ हुनेछ भने मोटाई ०।९८ मिलिमिटर हुनेछ। बेस प्लेटमा स्ट्याम्पिङद्वारा उठेको अंक र अक्षर पोजेटिभ इम्बोस्ड रहेको हुन्छ।

प्लेटको बाँया साइडको माथि नेपालको झण्डा र त्यसैको मुनी देश जनाउने गरी अंग्रेजीमा एनइपी र त्यसको मुनी सुरक्षात्मक होलोग्राम राखिएको हुन्छ।

प्लेटको माथि प्रदेश जनाउने संकेत अंग्रेजीमा लेखिएको हुन्छ। त्यसको मुनी लट जनाउने गरी अंग्रेजी अल्फाबेट राखिएको र सो को मुनी बढीमा ४ अंक लेखिएको हुन्छ। यो नम्बर प्लेट जडान भएपछि वर्षौंसम्म राज्यलाई सवारी कर नतिर्ने सवारीधनी पनि करको दायरामा आउने र सवारी प्रयोग गरी हुने आपराधिक घटना शून्य हुने सरकारको विश्वास छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *