Main News

यौन हिंसाका घटनामा हदम्याद हटाउन नहुने सांसद विश्वकर्माको जिकिर

हिमालय टिभी
२०७९ जेठ २३ गते १४:५६
यौन हिंसाका घटनामा हदम्याद हटाउन नहुने सांसद विश्वकर्माको जिकिर

२३ जेठ २०७९ काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्मा बलात्कार तथा यौनहिंसाका घटनामा उजुरीका लागि हदम्याद हटाउन नहुने पक्षमा उभिनु भएको छ ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद विश्वकर्माले नक्कली मुद्दाको चाङ लाग्ने र वास्तविक पीडितले न्याय नपाई मानसिक सन्तुलन गुमाएर सडकमा आउने अवस्था आउने भन्दै त्यस्ता जघन्य अपराधका घटनाको उजुरीका लागि हदम्याद राख्ने कानुनी व्यवस्था हटाउन नमिल्ने बताउनु भएको हो ।

उहाँले वृद्ध, अशक्त, बालबालिकाको हकमा भने समयमै उनीहरुले उजुरी दिन नसक्ने भएकाले हदम्याद हटाउन मिल्ने भएपनि सामान्य मानिसको हकमा भने त्यसो गर्न नहुने तर्क गर्नु भयो ।

सांसद विश्वकर्माले यौन हिंसा गम्भिर अपराध भएकाले पीडकलाई कडाभन्दा कडा कारबाही गर्न र पीडितलाई क्षतिपूर्तिसहितको न्याय दिन पनि सरकारसँग माग गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘यौन हिंसा गम्भिर प्रकारको अपराध हो । यसका दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्दछ । हामी सबैको र नेपाली समाजको नै माग छ । तर अपराध भन्ने वित्तिकै यसको हदम्याद राख्ने कि नराख्ने भन्ने बारेमा चाहिँ अलि बढी गहन छलफल हुनुपर्दछ जस्तो लाग्छ ।’

सांसद विश्वकर्माले कुनै पनि क्षेत्रको कानुन तुर्जुमा गर्नुअघि त्यस विषयमा व्यापक छलफल गर्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *