समाज

भेडेटारमा यसरी बढ्यो पर्यटक आगमन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ २२ गते १७:४९
भेडेटारमा यसरी बढ्यो पर्यटक आगमन (भिडियो रिपोर्टसहित)

२२ जेठ २०७९ धनकुटा । धनकुटाको पर्यटकीय क्षेत्र भेडेटारमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । गर्मी छल्न नेपालकै तराई तथा भारतबाट आउने पर्यटकका कारण भेडेटार, नाम्जेका व्यवसायीलाई भ्याइनभ्याई छ ।

कोरोना महामारीका कारण पछिल्लो दुई वर्ष व्यवसायमा टिक्नै समस्या भोगिरहेका भेडेटारका व्यवसायीलाई यो वर्षको पर्यटक आवागमनले राहत दिएको छ ।

धनकुटाको पर्यटकीय गन्तब्य भेडेटार र नाम्जेमा पर्यटकको संख्या बढेपछि होटल व्यवसाय मात्र होइन जिपलाइन, प्याराग्लाइडिङ, स्काइवाक जस्ता सहासिक खेल संचालन गर्ने व्यवसायी पनि हौसिएका छन् ।

सरकारी तथा गैरसरकारी संस्थाले पनि कार्यक्रम आयोजनाका लागि यसै ठाउँ रोजेका कारण अहिले भेडेटारमा पर्यटकको चहलपहल बाक्लै देखिन्छ । अहिले दैनिक पाँच सयभन्दा बढी पर्यटक भेडेटार पुग्छन् ।

सूर्योदय र सूर्यास्तको दृष्य तथा शीत्तल वातावरणका लागि भेडेटार प्रख्यात छ । छिनछिनमा बादलभित्र लुकामारी खेल्ने मौसमकै विशेषताका कारण प्रायः पर्यटक घुमफिरका लागि आउने गरेका छन ।

उखरमाउलो गर्मी छल्न पूर्वी तराईका झापा, सुनसरी, मोरङदेखि सप्तरी, उदयपुरलगायतका जिल्लाबाट पर्यटक भेडेटार आउने गरेका छन । भारतका विभिन्न स्थानबाट पनि पर्यटक भेटेर आउने गरेका छन । भेडेटारबाट मकालु, मनास्लु, बरुण, लोहोत्से, कुम्भकर्णलगायतका हिमाल हेर्न सकिन्छ ।

विदेशी पर्यटक आकर्षित गर्न सरकारी र निजी क्षेत्रबाट प्रचारका केही प्रयास भएका छन्। कोशी करिडोरको मुख्य पर्यटकीय हबका रुपमा विकास हुँदै गएको भेडेटार र नाम्जेलाई व्यवस्थित गर्न स्थानीय सरकारले पनि पहल थालेको छ ।

इलामको सूर्योदय, सोलुखुम्वुको नाम्चे र धनकुटाको भेडेटारलाई पर्यटकीय ग्रामको रुपमा विकास गर्ने प्रदेश १ सरकारको नीति नै छ । नीति तथा कार्यक्रम र बजेट भए पनि प्रदेश १ सरकारले भेडेटारमा पर्यटन विकासका लागि ठोस कार्ययोजना भने अघि सार्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *