सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने तयारीमा एकीकृत समाजवादी

२२ जेठ २०७९ काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने तयारी गरेको छ ।
एकीकृत समाजवादीको हिजोदेखि जारी सचिवालय बैठकमा मन्त्री हेरफेर गर्ने विषयमा छलफल थालेको हो । मन्त्री हेरफेरको जिम्मेवारी शीर्ष नेतालाई दिइएको उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिनुभयो ।
एकीकृत समाजवादीले सुरुमा ६ महिनापछि आफ्ना तर्फबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने बताएको थियो । आज पनि बसेको सचिवालय बैठकले मन्त्री हेरफेरका लागि मापदण्ड तयार पार्न शीर्ष नेतृत्वलाई जिम्मा दिएको छ ।
अहिलेसम्मको कार्यप्रगतिलाई मुख्य आधार बनाएर कामै गर्न नसकेको मन्त्री फेरबदल गर्नुपर्ने बहस सुरु भएको नेताहरुले जानकारी दिएका छन् । एक राज्यमन्त्रीसहित ५ जना मन्त्री एकीकृत समाजवादीबाट सरकारमा सहभागी छन् ।
त्यस्तै एकीकृत समाजवादीको सचिवालय बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा पनि भएको बताइएको छ ।
सत्तारुढ पाँच दलीय गठबन्धनमा असन्तुष्ट बनेको चर्चा चलिरहेका बेला एकीकृत समाजवादीले अहिले नै अर्को विकल्पमा नजाने प्रष्ट पारेको छ । उपमहासचिव तुलाधरले वामगठबन्धनबारे कुनै छलफल नभएको जानकारी दिनुभयो ।
प्रतिक्रिया