Main News

नेपालले तिब्बती शरणार्थीहरुको अधिकार कुण्ठित गरेको अमेरिकाको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ २१ गते २१:३४
नेपालले तिब्बती शरणार्थीहरुको अधिकार कुण्ठित गरेको अमेरिकाको आरोप (भिडियो रिपोर्टसहित)

२१ जेठ २०७९ काठमाडौं । अमेरिकाले नेपालले तिब्बती शरणार्थीको अधिकार कुण्ठित गरेको आरोप लगाएको छ ।

अमेरिकी उपमन्त्री उज्रा जिया नेपाल भ्रमण गरेर फर्किएको केही समयपछि नै अमेरिकाले नेपालमा तिब्बती शरणार्थीको धार्मिक, साँस्कृतिक अधिकारमा बन्देज लगाएको आरोप लगाएको हो ।

अमेरिकी विदेश मन्त्रालयले त्यहाँको संसदमा बिहीबार अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता २०२१ शीर्षकको वार्षिक प्रतिवेदन पेश गर्‍यो । विश्वका विभिन्न देशमा धार्मिक स्वतन्त्रताको अवस्था समेटिएको प्रतिवेदनमा नेपालको पनि आलोचना गरिएको छ ।

खासगरी तिब्बती शरणार्थीको धार्मिक तथा साँस्कृतिक स्वतन्त्रतालाई लिएर अमेरिकाले नेपालको आलोचना गरेको हो । उक्त प्रतिवेदनमा नेपालमा तिब्बतीहरुलाई धार्मिक तथा साँस्कृतिक अधिकारमा बन्देज लगाइएको र उनीहरुलाई नेपाल प्रहरीले उच्च निगरानीमा राखेको औंल्याएको छ ।

गत वर्ष नेपालमा रहेका तिब्बती समुदायले निर्वासित धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउने क्रममा प्रहरीले अवरोध सिर्जना गरेको पनि प्रतिवेदनमा भनिएको छ । झण्डै दुई हप्ताअघि तिब्बती मामिला सम्बन्धी संयोजकसमेत रहेकी अमेरिकी उपमन्त्री उज्रा जिया नेपाल भ्रमणमा आउनु भएको थियो ।

अमेरिका नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको ७५ औं वर्षगाँठको अवसरमा उपमन्त्री जियाको नेपाल भ्रमण भएको नेपाल र अमेरिकाका अधिकारीहरुले बताएका थिए । औपचारिक रुपमा दुई देशबीचको सम्बन्ध मजबुत पार्न भ्रमण गरिएको बताइए पनि जियाको भ्रमणको भित्री उद्देश्य तिब्बती शरणार्थीहरुको अवस्थाको विषयमा जानकारी लिनु र उनीहरुलाई सहयोग गर्नु रहेको कूटनीतिक जानकार हिरण्यलाल श्रेष्ठको बुझाइ छ ।

नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ भने नेपालमा चीन विरोधी कुनैपनि गतिविधि गर्नु नेपालको हितमा नरहेको श्रेष्ठ बताउनु हुन्छ । तर अमेरिकाले भने तिब्बतीहरुका गतिविधि नरोक्न नेपाललाई दबाब दिँदै आएको छ । यहीबीचमा अमेरिकी उपमन्त्री जियाले नेपालमा रहेका तिब्बती शरणार्थीहरुसँग भेट गरेपछि सरकारको समेत आलोचना भइरहेको छ ।

केही दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको औपचारिक भ्रमण गर्ने तयारी भइरहेको छ। यो भ्रमणमा पनि अमेरिकाले तिब्बती मामिला उठाउन सक्ने अनुमान गरिएको छ । नेपालको असलग्न पराष्ट्रनीति रहेको अमेरिकालाई स्पष्ट बझाउनु पर्ने र नेपाली भूमि कुनै पनि देश र छिमेकीविरुद्ध प्रयोग हुन दिँदैनौं भनेर प्रधानमन्त्री देउवाले भन्न सक्नुपर्ने परराष्ट्रविद् श्रेष्ठको जोड छ ।

चीनको तीव्र आर्थिक बिकासबाट अमेरिका आत्तिएको र उसलाई रोक्न तिब्बती समस्या थप चर्काउन खोजेको अनुमान गरिएको छ । तर चीनले भने तिब्बती समस्या आफ्नो आन्तरिक समस्या भन्दै अमेरिकी चासोलाई ठाँडै चुनौती दिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *