Main News

पुस्तक नहुँदा पठनपाठन प्रभावित : कुन कुन जिल्लामा पुगेन पाठ्यपुस्तक ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ २१ गते २१:१३
पुस्तक नहुँदा पठनपाठन प्रभावित : कुन कुन जिल्लामा पुगेन पाठ्यपुस्तक ? (भिडियो रिपोर्टसहित)

२१ जेठ २०७९ काठमाडौं । नयाँ शैक्षिक शत्र शुरु भएको एक महिना नाघ्यो । तर, आजसम्म पनि विभिन्न जिल्लाका विद्यार्थीले पुस्तक पाएका छैनन् । पुस्तक नहुँदा विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

नयाँ शैक्षिक शत्रका लागि विद्यालय खुलेको महिना दिन नाघ्यो। तर, धेरै विद्यार्थीको हातमा पाठ्यपुस्तक छैन । केही विद्यार्थीले पुराना पुस्तक संकलन गरेर पढ्ने गरेका छन् । तर, पाठ्यक्रम परिवर्तन भएका ४, ७ र ९ कक्षामा के पढाउने भन्ने अन्योल शिक्षकमा छ ।

सुदूरपश्चिम प्रदेशमा ३५ प्रतिशत विद्यार्थीको हातमा पुस्तक पुग्न नसकेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । तर, पुस्तक व्यवसायी भने ५० प्रतिशत पुस्तक मात्र आएको बताउँछन् ।

जनक शिक्षा सामग्री केन्द्रले भने पहाडी जिल्लामा पुस्तक वितरण भै सकेको जनाएको छ । कैलाली र कञ्चनपुरका विद्यालयमा पुस्तक वितरण कार्य शुरु केन्द्रको दाबी छ ।

जनक शिक्षा सामग्री केन्द्रका अनुसार सुदूरपश्चिममा आवश्यक पर्ने २२ लाख पुस्तकमध्ये १५ लाख वितरण भैसकेको छ । बाँकी ७ लाख पुस्तक जेठ मसान्तसम्ममा उपलब्ध गराउने जनक शिक्षाले जनाएको छ । केन्द्रको बुटवल डिपोले ६५ प्रतिशत पुस्तक बजारमा गएको दाबी गरेको छ । १३ लाख पुस्तक बजारमा पठाइएको र अब ४ लाख पुस्तक आवश्यक रहेको बुटवल डिपोले जनाएको छ । पुस्तक नपाउँदा पठनपाठन प्रभावित भएको छ ।

डिपोबाट ८० प्रतिशत पुस्तक वितरण भैसकेको जनक शिक्षा सामग्री केन्द्र, बाँकेले जनाएको छ । कक्षा ६ को विज्ञान, अंग्रेजी, नेपाली र कक्षा ८ को नेपाली अंग्रेजी, सामाजिक र स्वास्थ्य शिक्षा विषयको पाठ्यपुस्तक अभाव रहेको केन्द्रले जनाएको छ । असार १५ सम्ममा सबै विद्यार्थीको हातमा पुस्तक पुग्ने केन्द्रको दाबी छ ।

जनक शिक्षा सामग्री केन्द्र, नेपालगन्जले यो दाबी गरिरहँदा रुकुमपूर्वको पुथाउत्तरगंगा, सिस्ने र भुरे गाउँपालिकाका ७५ वटा विद्यालयमा एक सेट पनि पाठ्यपुस्तक पुगेको छैन ।

जनक शिक्षा सामग्री केन्द्र पोखरा डिपोले १८ लाख आवश्यक पुस्तक मध्ये १० लाख मात्र उपलब्ध रहेको जनाएको छ ।

तनहुँमा निश्चित कक्षाका निश्चित पुस्तकहरु अभाव रहेको र पाठ्यक्रम परिवर्तन भएका पाठ्यपुस्तक न्यून संख्यामा आउँदा समस्या भएको छ।

हरेक वर्ष झैँ यो वर्ष पनि पुस्तक छपाई तथा वितरणमा ढिलाई हुँदा पठनपाठन प्रभावित बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *