समाज

चित्रकलामा व्यस्त आले (भिडियो रिपोर्टसहित)

२०७९ जेठ २१ गते १७:३६
चित्रकलामा व्यस्त आले (भिडियो रिपोर्टसहित)

२१ जेठ २०७९ धनकुटा । सरकारी जागिरमा ३६ वर्ष बिताएका धनकुटा नगरपालिका वडा नम्बर ७ श्रीवानीका डिल्लीकृष्ण आले अहिले चित्रकलामा व्यस्त हुनुहुन्छ । आले चित्रहरुमा अनेक रंग भरेर सेवानिवृत्त जीवन बिताइरहनु भएको छ ।

३६ वर्षसम्म कलम र कागजमा चलमलाएका डिल्लीकृष्ण आलेका हातहरु क्यानभासमा रंग भर्न व्यस्त छन । अञ्चलाधीशको कार्यालय, मोरङमा मुखियाबाट सेवा शुरु गर्दै जिल्ला प्रशासन कार्यालय धनकुटामा नायव सुब्बा पदबाट निवृत्त आले कहिले जंगल त कहिले सडक बीचमा भेटिनुहुन्छ ।

सानो उमेरदेखि नै पेन्सिलले कोर्ने चित्र र चित्रमा भर्ने रंगबाट लोभिने आले सेवानिवृत्त भएपछिको ५ वर्ष जीवन र संस्कृति भरिएका सुन्दर चित्रहरु तयार गरिरहनुभएको छ ।

आलेले चित्रकलासम्बन्धी कुनै औपचारिक अध्ययन गर्नुभएको छैन । तर, एक्रेलिक, ओइल र वाटर कलरमा तीन हजारभन्दा बढी चित्र बनाइसक्नु भएको छ । आलेको चाहना छ, चित्रकलामा रुची भएका बालबालिका कला क्षेत्रमा आउन, कलाप्रतिको रुची मरेर नजाउन ।

आलेले तयार गरेको चित्रमा ऐतिहासिक, साँस्कृतिक, प्राकृतिक, काल्पनिक र जीवनजगतका अनेक आयाम देख्न सकिन्छ । कुचीलाई क्यानभासमा दौडाउन तल्लीन आलेलाई देख्दा लाग्छ, उहाँको जीवन चित्रमा पोतिएका रंगहरु जस्तै रंगीन छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *