Main News

हरेक वर्ष मल अभाव हुन नदिने सरकारी घोषणा कागजमा मात्र सीमित (भिडियो रिपोर्टसहित)

२०७९ जेठ २० गते २१:३२
हरेक वर्ष मल अभाव हुन नदिने सरकारी घोषणा कागजमा मात्र सीमित (भिडियो रिपोर्टसहित)

२० जेठ २०७० काठमाडौं । वर्षेनी रासायनिक मलको अभाव झेल्दै आएका किसान यो वर्षपनि मल अभाव झेल्न बाध्य बनेका छन् ।

हरेक वर्ष मल अभाव हुन नदिने सरकारी घोषणा कागजमा मात्र सिमित हुने गरेको छ । यसवर्ष आवश्यकता अनुसार मल खरिद नगरेका कारण देशभर नै अभाव चुलिएको छ ।

सरकारले केही दिनअघि ल्याएको बजेटमा कृषि उत्पादनको वृद्धिलाई जोड दिएको छ भने आयात भारी मात्रामा कटौती गर्ने लक्ष्य राखेको छ । कृषि उत्पादन वृद्धिलाई पहिलो शर्त भनेको किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउनु हो ।

प्रमुख बालीहरु मकै उत्पादन गर्ने र धान रोप्ने समयमै मलको चरम अभाव छ । मकैका लागि चाहिने युरिया मलको सबैभन्दा धेरै अभाव देखिएको छ । हरेक वर्ष रासायनिक मल वार्षिक ८ लाख टनभन्दा बढी आवश्यक रहन्छ तर, कृषि सामग्री लिमिटेडले यो आर्थिक वर्षमा जम्मा १ लाख ५४ हजार १ सय १८ टन मात्रै मल उपलब्ध गराएको छ ।

त्यसो हुँदा चालु आर्थिक वर्षमा वितरण गरिएको मल हात्तीको मुखमा जिरा जस्तै भएको छ । बर्षेनी मलको अभाव हुने गरेकोमा यो वर्ष मल अभाव हुन नदिन समयमा नै ग्लोबल टेण्डर गरिएको तर अन्तर्राष्ट्रिय बजारमा मलको भाउ अत्यधिक बढेकाले टेण्डर नै रद्ध भएको कृषि सामग्री कम्पनीका सूचना अघिकारी पूण्यप्रसाद उपाध्यय बताउनुहुन्छ । रुसले युक्रेनमा आक्रमण गरेपछि रासायनिक मलको मूल्य गत वर्ष भन्दा झण्डै तीन गुणाले बढेको सूचना अधिकारी उपाध्यायले जानकारी दिनुभयो ।

रासायनिक मलमा सरकारले कृषकलाई अनुदान दिँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बढ्दै जाँदा सरकारले भने अनुदान रकममा झण्डै पचास प्रतिशतले कटौती गरेको छ ।

चालु आर्थिक वर्षका लागि २८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको सरकारले आगामी आर्थिक वर्षका लागि १५ अर्ब रुपैयाँ मात्रै बिनियोजन गरेको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढिरहेको अवस्थामा सरकारले सोही अनुसार अनुदान रकममा वृद्धि गर्नुपर्ने थियो । यस्ले आगामी वर्ष पनि रासायनिक मलको अभाव थप बढेर जाने स्पष्ट छ ।

सरकारले कृषि उत्पादन बढाएर आयात निरुत्साहित गर्ने नीति लिएको छ । तर बालीनाली लगाउने समयमै मल अभाव भएपछि उत्पादन बढ्ला भन्नु आफैंमा अनौठो छ । मल अभाव हुन नदिन जीटुजी मोडल अनुसार भारतबाट मल आयातको सम्झौता गरेको सरकारले अझै ल्याउन सकेको छैन् ।

बंगलादेशले पनि नेपाललाई पचास हजार टन रासायनिक मल अनुदानमा दिएको थियो । बंगलादेशबाट प्राप्त भएको मल पनि वितरण भैसकेको छ । आवश्यकता अनुसार मल आयात हुन नसकेपछि मल गोदाम र डिपोहरु खाली भएका छन् । मकैका लागि धेरै युरिया मलको आवश्यकता पर्छ भने धानबालीका लागि डीएपी मलको आवश्यकता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *