सिसडोल पुगेर नगरप्रमुख बालेनले गरे यस्तो बाचा (भिडियो रिपोर्टसहित)

२० जेठ २०७९ काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन र उपमेयर सुनिता डंगोलले आज काठमाडौं उपत्यकाको फोहर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोल पुगेर समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
स्थानीयको समस्या र गुनासा सुनेपछि मेयर साहले तत्कालका लागि केमिकल राखेर गन्ध हटाउने उपाय अपनाउने बताउनुभयो । उहाँले केमिकल हालिसकेपछि गन्ध हराउन एक हप्ता लाग्ने र केमिकल आउन ट्रक नरोक्न सिसडोबासीलाई आग्रह गर्नुभयो । उहाँले फोहोरबाट मल बनाउने अर्को एउटा सिस्टम राख्ने र ड्रिल गरेर ग्यास निकाल्ने योजना पनि सुनाउनुभयो ।
स्थानीय जनप्रतिनिधि र नागरिक अगुवाहरूले आफूहरुले स्वस्थ्य वातावरणमा बस्न पाउनुपर्यो भनेर माग गर्दा प्रहरी प्रशासन लगाएर दमन गरिएको गुनासो गरेका थिए ।
मानव र फोहोर एकै ठाउँमा बस्न नसक्ने भएकाले फोहर वा स्थानीयको उचित व्यवस्थापन हुनुपर्ने माग उनीहरुको छ ।
यसअघि निर्वाचित भए लगत्तै मेयर साह अनुगमनका लागि सिसडोल र बञ्चरेडाँडा पुग्नु भएको थियो । साहले काठमाडौंको फोहरको दीर्घकालीन समाधान नभई जितको उत्सव नमनाउने र खादा तथा माला नलगाउने घोषणा गर्नु भएको थियो ।
फोहोर व्यवस्थापनबारे स्थानीय सरोकारका विषयमा छलफल गर्न मेयर साह र उपमेयर डंगोलले हिजो शहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग छलफल गर्नुभएको थियो ।
प्रतिक्रिया