Main News

मूल्यवृद्धि नियन्त्रण गरेर जनतालाई राहत दिन सांसदको माग

हिमालय टिभी
२०७९ जेठ २० गते १४:३९
मूल्यवृद्धि नियन्त्रण गरेर जनतालाई राहत दिन सांसदको माग

२० जेठ २०७९ काठमाडौं । सांसदले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको मारमा परेका जनतालाई राहत दिन प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सांसदले पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन गरी खाद्यान्यलगायत सामग्रीमा भइरहेको महँगी नियन्त्रणमा विशेष चासो दिन आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले युक्रेन र रसियाको जारी द्वन्द्वका कारण विश्वव्यापीरुपमा पेट्रोलियम पदार्थको मूल्य बढेको र नेपालमा पनि त्यसको असर देखिएको बताउनुभयो । उहाँले भन्सार छुट र सडक दस्तुर कम गरेर भए पनि पेट्रोलियम पदार्थमा जनतालाई राहत दिनैपर्नेमा जोड दिनुभयो । उहाँले तत्काल पेट्रोलियम ऐन ल्याइनुपर्ने बताउनुभयो । थापाले नेपाललाई पेट्रोल, डिजेल र मट्टितेल तथा खाना पकाउने एलपी ग्यासको खपतमुक्त राष्ट्र बनाउनसके मात्रै यो समस्या दीर्घकालीन रुपमा समाधान हुने विचार व्यक्त गर्नुभयो ।

नेकपा (एमाले) का सांसद डा भीमबहादुर रावलले इन्धन आयातका लागि एक देशको निर्भरतामा मात्रै भर नपरी खुला बजारको प्रबन्ध गर्न र विद्युतीय प्रयोगलाई बढाउन आग्रह गर्नुभयो । एमालेकै सांसद गोकुलप्रसाद बाँस्कोटाले पेट्रोलियम पदार्थ र खाद्यान्नमा देशको ठूलो धनराशि खर्चिनुपरेको भन्दै यसले भविष्यमा नेपाल आर्थिक सङ्कटतर्फ जानसक्ने खतरा औँल्याउनुभयो ।

कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले स्वभाविक हिसाबले मूल्यवृद्धिले आम जनतालाई महँगीको मारमा पारेको बताउँदै मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले उपाय खोज्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारमाथि दोष थुपारेर कोही पनि उम्किन पाउँदैन भन्दै कुन सरकारले मूल्य बढायो र कुन सरकारले घटायो भन्नेतर्फ नभई सरकारले यसको कारण खोजी गरेर मूल्यवृद्धि र चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसका सांसद डा मीनेन्द्रप्रसाद रिजालले जनतालाई पेट्रोलियम पदार्थ, खाद्यान्यलगायत विषयमा राहत दिनेकुरामा सबैको ध्यान जानुपर्ने बताउनुभयो । नेकपा (माओवादी केन्द्र) का सांसद यशोदा गुरुङ सुवेदीले पेट्रोलियम पदार्थको वैकल्पिक व्यवस्था गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले महँगी नियन्त्रणमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पट्रोलसँग सम्बन्धित सबैखाले कर खारेज गरेर मूल्यवृद्धि नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भारतीय एकाधिकार नतोडिएसम्म नेपालले सधैँ मूल्यवृद्धिको मार बेहोर्नुपर्ने अवस्था रहेको धारणा राख्नुभयो ।

नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले सरकारले नाफा र घाटाको मूल्याङ्कन गर्नेमात्र नभर्ई जनतालाई राहत तथा सुशासनको प्रत्याभूति गराउने दायित्व भएको उल्लेख गर्नुभयो । चुहावट नियन्त्रण गरी मूल्य समायोजन गरेर महँगी नियन्त्रण गर्नुपर्ने उहाँको सुझाव छ ।

नेपालमा करिब ११ महिनामा रु एक खर्ब ५२ अर्ब बराबरको पेटोलियम पदार्थको आयात भएको र पछिल्लो अवधिमा मूल्यवृद्धि हुँदा पनि करिब रु चार अर्ब घाटा रहेको निगमकोे तथ्याङ्क रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो १५ दिनमा पेट्रोलिय पदार्थमा रु ४३ करोड, डिजेलमा रु एक अर्ब एक करोड र एलपी ग्यास झण्डै रु एक अर्ब घाटा भएको छ ।

सांसद विमला विकले पेट्रोलियम पदार्थको मात्र नभर्ई खाना पकाउने ग्यास तथा खाद्यान्नको पनि मूल्यवृद्धि घटाइनुपर्नेमा जोड दिनुभयो । जनताको जनजीविकासँग जोडिएका खाद्यान्नलगायत अन्य उपभोग्य वस्तुको व्यापक मूल्यवृद्धि भएको भन्दै नेकपा (एमाले) का सचेतक विशाल भट्टराईले आज जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तावमा भनिएको छ, “जनताको आधारभूत आवश्यकता परिपूर्ति गर्ने कल्याणकारी राज्यको प्राथमिकता र सर्वाधिक महत्वपूर्ण दायित्वको सुनिश्चितता गर्न तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउने स्पष्ट खाका पेश गर्न सरकारलाई झकझक्याउन संसद्ले पहल गर्न अत्यावश्यक भएकाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरिएको छ ।” सरकारले मुद्रास्फितिलाई रोक्नुको सट्टा दिनानुदिन खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेललगायतका जनताको जीवनसँग जोडिएका पेट्रोलियम पदार्थको मूल्य स्वचालितरुपमा पन्ध्र दिनमा एकपटक समायोजन गर्नसक्ने प्रावधान विपरित बढाएको सचेतक भट्टराईको भनाइ थियो ।

सांसद घनश्याम खतिवडाले एक वर्षको अवधिमा पेट्रोलियम पदार्थको मूल्य ७० प्रतिशत वृद्धि भएको र यसले महँगी बढेको तथा खाद्यान्न सामग्रीको पनि मूल्य आकासिएको बताउनुभयो ।

सांसद राजेन्द्र गौतमले प्रस्तावको समर्थन जनाउँदै पेट्रोलियम पदार्थ र खाद्यान्नको मूल्यवृद्धिबारे सरकार बेखबर बनेको आरोप लगाउनुभयो । सांसद झपटबहादुर रावलले प्रस्तावको समर्थन गर्दै महँगीको मारमा परेका जनताको समस्याप्रति सरकारले चासो नदिएको आरोप लगाउनुभयो । नौ महिनामा १० पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले हरेक क्षेत्रमा यसको असर देखिएको उहाँले उल्लेख गर्नुभयो ।

सांसद पार्वता डिसी चौधरीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि कसरी हुनगयो त्यसपक्षलाई पनि हेर्न जरुरी भएको उल्लेख गर्नुभयो । सांसद नवराज सिलवालले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको मारमा बीउ र मल नपाएर किसानले सास्ती बेहोर्नुपरेको जिकिर गर्नुभयो । सांसद दिव्यमणिराज भण्डारीले मूल्यवृद्धि क्रमश: घटाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

महँगी नियन्त्रणका लागि संसदीय समिति गठन गर्न माग
सांसद कृष्णप्रसाद दाहालले प्रस्तावको पक्षमा समर्थन जनाउँदै मूल्यवृद्धिले जनताको ढाँड सकेको तर, मूल्यवृद्धि नियन्त्रणमा सरकारले नसुनेजस्तो गरेको आरोप लगाउनुभयो । उहाँले सम्पूर्ण क्षेत्रमा महँगी बढिरहेको भन्दै संसदीय समिति गठन गरेर महँगीको मारमा परेका जनतालाई राहत दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद शान्ता चौधरीले पेट्रोलियम पदार्थको मारमा परेका जनतालाई राहत दिन संसदीय समिति बनाएर छलफल गर्न माग गर्नुभयो । सांसद मोहन बाँनियाले सरकार जनताका लागि भएकाले जनताको सवालप्रति गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो । सांसद दुर्गा पौडेलले जनताको समस्यालाई समाधान गर्न सबै गम्भीर हुनुपर्ने बताउनुभयो ।

‘काठमाडौँमा बस्न गाह्रो भइसक्यो’
सांसद गङ्गा चौधरीले पेट्रोलियम पदार्थलगायतमा अचाक्ली मूल्यवृद्धि भएकाले काठमाडौँमा बस्न गाह्रो भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “महँगीले काठमाडौँमा बस्न गाह्रो भइसक्यो, घरबेटीले भाडा बढाए हामी (सांसद) जस्तालाई पनि गाह्रो भइसक्यो भने आज सर्वसाधारणको अवस्था कस्तो होला ? आयल निगम सधैँ घाटामा जानुपर्ने कारण के हो ? कमिसनको खेलले त होइन ।”

सांसद शान्तिमाया तामाङ पाख्रिनले मूल्यवृद्धिले विशेष गरी गरिब जनता र मजदूरलाई मार परेको जिकिर गर्नुभयो । सांसद आशाकुमारी विक, पार्वतीकुमारी विशङ्खे, रेखाकुमारी शर्मा, मोहनप्रसाद पाण्डे, हरिराज अधिकारीलगायतले मूल्यवृद्धिको उपाय खोजेर जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *