समाज

अवैध उत्खनन रोक्न खटिए जनप्रतिनिधि

२०७९ जेठ २० गते ९:३५
अवैध उत्खनन रोक्न खटिए जनप्रतिनिधि

२० जेठ २०७९ राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकाअन्तर्गतका नदी तथा खोलामा भइरहेको नदीजन्य पदार्थको उत्खनन रोक्न जनप्रतिनिधि खटिएका छन् । गाउँपालिकाले बिहीबारदेखि स्थलगतरूपमा अनुगमन सुरु गरेको छ ।

गाउँपालिका अध्यक्ष तप्त पौडेलका अनुसार गाउँपालिकाका नौवटै वडाका वडाध्यक्षसहित १७ कार्यपालिका सदस्य, कर्मचारी, प्राविधिक, सुरक्षाकर्मीसहितको टोलीले स्थलगत अनुगमन गरेको हो । टोलीले राप्ती सोनारी गाउँपालिका–४, ५ र ६ का विभिन्न स्थानमा पुगी घाटगद्दी गरेर राखिएका नदीजन्य पदार्थको नापजाँच गरेको छ ।

गाउँपालिकाले कार्यपालिका बैठकबाट निर्णय गराएर नदीजन्य पदार्थको नियमन सुरु गरिएको पौडेलले बताउनुभयो । क्रसर उद्योग र घाटगद्दीको स्थलगत अनुगमन गरी नियम, कानुनअनुसारका आवश्यक कागजात माग गर्ने र त्यहाँ रहेका नदीजन्य सामग्रीको मात्रा जाँच गरी सो को खरिद वा सङ्कलनका स्रोतको यकिन गर्ने गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीका अनुसार अनुगमनका क्रममा अधिकांश क्रसर उद्योग नियमविपरीत चलेको पाइएको छ । कतिपय उद्योगलाई आफ्ना कागजातसहित सात दिनभित्र गाउँपालिकामा सम्पर्क गर्न र तोकिएको राजस्व बुझाउन निर्देशन दिइएको छ ।

राप्तीसोनारी गाउँपालिकाले खैरीखोला, मुगुवाखोला, टिकुलीपुरघाट, सिधनियाघाट, बग्दैलाघाट, लालपुरघाट, आलिनगर खल्लाटपरीघाट, जलालाघाट, परुवाखोला, झिझरीखोलालाई निषेधित क्षेत्र कायम गरिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८÷७९ मा यहाँका नदी तथा खोलामा ठेक्का लगाउन नसक्दा अवैधरूपमा नदीजन्य पदार्थको उत्खनन गरी चोरी निकासी हुँदै आएको छ । राप्ती नदीको नदीजन्य पदार्थको अवैध उत्खनन रोकेर गाउँपालिकाले आगामी आव २०७९÷८० देखि नदी तथा खोलामा ठेक्का लगाउने तयारी गरेको डाँगीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *