समाज

सुदूरपश्चिम सरकार : असारे विकासको तयारी (भिडियो रिपोर्टसहित)

२०७९ जेठ १८ गते २०:४६
सुदूरपश्चिम सरकार : असारे विकासको तयारी (भिडियो रिपोर्टसहित)

१८ जेठ २०७९ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले असारे विकास पद्धतिलाई निरन्तरता दिने गरी १० महिना बराबरको पुँजीगत बजेट खर्च असारमै गर्ने तयारी गरेको छ ।

जेठसम्म आइपुग्दा करिब ३१ प्रतिशत मात्रै पुँजीगत खर्च गरेको सुदूरपश्चिम प्रदेश सरकारले एक महिनामा झन्डै ४० प्रतिशत खर्च गर्ने तयारी गरेको हो ।

सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष ०७८र०७९ का लागि ३० अर्ब ५५ करोड चार लाख ५४ हजार रुपैयाँको कुल बजेट विनियोजन गरेको थियो । चालू आर्थिक वर्षमा ७० प्रतिशतको हाराहारीमा पुँजीगत खर्च हुने अनुमान प्रदेश सरकारको थियो । तर, हालसम्म ३० दशमलव ४ प्रतिशत बजेट मात्रै खर्च गरेको छ भने कुल बजेटको पनि ३५ प्रतिशत मात्रै खर्च भएको छ ।

पाँच अर्ब ५४ करोड ५८ लाख नौ हजार ६ सय ३२ रुपैयाँ मात्रै खर्च गरेको प्रदेश सरकारले लक्ष्य भेट्न थप ३९ दशमलव ६ प्रतिशत अर्थात् ६ अर्ब खर्च गर्नुपर्ने छ । यदि यस्तो भएमा चालू आर्थिक वर्षको १० महिनामा भन्दा असारमा बढी खर्च हुनेछ ।

सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि पुँजीगततर्फ १८ अर्ब १० करोड, ३० लाख ५५ हजार बजेट विनियोजन गरिएको थियो । वैशाखसम्म पाँच अर्ब ५४ करोड ५८ लाख नौ हजार ६ सय ३२ रुपैयाँ मात्रै खर्च भएको छ ।

त्यस्तै, चालूतर्फ १२ अर्ब ४४ करोड ७३ लाख ९९ हजार रुपैयाँ विनियोजन गरेकोमा हालसम्म पाँच अर्ब ५४ करोड ५८ लाख नौ हजार ६ सय ३२ रुपैयाँ खर्च गरेको छ ।

धेरै मन्त्रालयहरुको भौतिक प्रगति सम्पन्न भए पनि भुक्तानीमा ढिलाइ हुँदा खर्च कम भएको आर्थिक मामिला तथा योजना मन्त्रालयको दाबी छ । ठेकेदारले विल भुक्तानी नगरेका कारण बजेट खर्च कम देखिएको र असार मसान्तसम्म ६५ देखि ७० प्रतिशतकै हाराहारीमा पुँजीगत बजेट खर्च हुने मन्त्रालयको भनाइ छ ।

प्रदेशमा वैशाखसम्म सवैभन्दा बढी आन्तरिक मामिला तथा कानुन मन्त्रालले ६७ दशमलव ९८ प्रतिशत बजेट रकम खर्च गरेको छ । प्रदेशको सबैभन्दा बढी बजेट भएको भौतिक पूर्वाधार मन्त्रालयले भने ३८ प्रतिशत मात्रै खर्च गरेको छ । समयमै बजेट कार्यान्वयन गर्ने घोषणा गरेको सुदूरपश्चिम प्रदेश सरकार प्रतिबद्धता कार्यान्वयनमा असफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *