Main News

बजेटमाथि सांसदहरुले गरे यस्तो टिप्पणी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ १८ गते १८:२४
बजेटमाथि सांसदहरुले गरे यस्तो टिप्पणी (भिडियो रिपोर्टसहित)

१८ जेठ २०७९ काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटले देशको आर्थिक संकटलाई ध्यान नदिएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका एमाले सांसद सुरेन्द्र पाण्डेले बजेटले देशको आर्थिक संकटलाई ध्यान नदिएको बताउनुभयो । उहाँले डलरको सञ्चिति घट्ने क्रम जारी रहे नेपालको अवस्था श्रीलंकाको जस्तो हुनसक्ने चेतावनी दिनुभयो ।

सांसद पाण्डेले महंगीको हिसाबमा कर्मचारीको तलव १५ प्रतिशतले वृद्धि हुनु ठिकै भएपनि सबै वर्गका कर्मचारीको समान रुपमा तलव वृद्धि हुनु न्यायोचित नभएको बताउनुभयो ।

सत्तारुढ माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले बजेटलाई श्रेयको दौड नबनाउन प्रतिपक्षसँग आग्रह गर्नुभयो । सांसद बस्नेतले प्रतिपक्ष दलका सांसदहरुले पपुलिष्ट बजेट भनेर चर्चा गर्नुको अर्थ नरहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले उत्पादनवृद्धि, रोजगार अभिवृद्धिसहित आत्मनिर्भर अर्थतन्त्रलाई प्राथमिकताको केन्द्रमा राखेर बजेट प्रश्तुत गरिएको बताउनु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राजेन्द्र लिङदेनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट निर्वाचन केन्द्रित रहेको टिप्पणी गर्नुभयो । लिङदेनले ललिपपजस्तो मानिसहरुलाई भूल्याउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाउनु भयो ।

यस्तै, राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले संघीयता र त्यसका सबै प्रादेशिक संरचनाहरु खारेज हुनुपर्ने पार्टीको पूरानै अडान दोहोर्‍याउनु भयो । सांसद पौडेलले देशका लागि ठूलो आर्थिक बोझ हुने र जातीयरक्षेत्रीय विग्रह पनि बढने भन्दै संघीयता र त्यसका सबै प्रादेशिक संरचनाहरु खारेज हुनुपर्ने बताउनु भयो ।

सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले सरकारले ल्याएको बजेटमा मधेश प्रदेश पूर्ण रुपमा ठगिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । सांसद यादवले बजेटमा कुनै पनि खास योजना मधेश प्रदेशका लागि नछुट्टयाएको भन्दै पुनर्विचार गर्न पनि सरकारसँग माग गर्नु भयो ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद विमलप्रसाद श्रीवास्तवले आगामी आर्थिक वर्षभित्र वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन भएमा आफ्नो नाममा रहेको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *