Main News

आफ्नो निर्वाचन क्षेत्रमा बजेटको खोलो बगाउने यस्तो प्रतिष्पर्धा (भिडियो रिपोर्टसहित)

२०७९ जेठ १७ गते २१:०२
आफ्नो निर्वाचन क्षेत्रमा बजेटको खोलो बगाउने यस्तो प्रतिष्पर्धा (भिडियो रिपोर्टसहित)

१७ जेठ २०७९ काठमाडौं । संघीय संसदका दुबै सदनमा आर्थिक वर्ष २०७९–८० को बजेटमा छलफल जारी छ ।

पुरानै शैली पछ्याउँदै प्रतिपक्षी दलका सांसदले बजेटको विरोधलाई निरन्तरता दिइराखेका छन भने सत्तारुढ सांसदहरुले बचाउ गर्न छाडेका छैनन् । त्यति मात्र होइन, सत्ताधारी शीर्षनेताहरुले पनि आफ्नो निर्वाचन क्षेत्रमा बजेटको खोलो बगाउने प्रतिष्पर्धालाई निरन्तरता दिइरहेका छन् ।

आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटको प्राथमिकतामा डडेल्धुरा, चितवन नै परेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो, डडेल्धुरा र सत्ता सहयात्री पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवन ।

सत्ता साझेदार नै भएपनि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई भने आफ्नो गृहजिल्ला गोरखामा बजेट लान नपाएकोमा आक्रोशित हुनुहुन्छ । उहाँले गोरखामा बजेट नदिइएको भन्दै चित्त दुखाउनुभएको छ । भट्टराईले सामाजिक सञ्जालमै आफ्नो तितो पोख्नुभएको छ ।

तर, भट्टराईले आफू प्रधानमन्त्री हुँदा होस् वा अर्थमन्त्री हुँदा पनि आफ्नो गृहजिल्ला गोरखालाई प्राथमिकता दिनुभएको थियो । त्यतिबेला तत्कालिन विपक्षी दल कांग्रेसले उहाँको खुबै आलोचना गरेको थियो । देशकै प्रधानमन्त्री हुँ भन्ने शीर्ष नेताहरुले आफ्नो चुनाव क्षेत्रलाई सधैं प्राथमिकतामा मात्र राख्नु नौलो हुनै छाड्यो । जसपा नेता भट्टराई मात्र बजेटको आलोचक होइन, प्रमुख प्रतिपक्षी एमालेले त बजेट चुनाव जित्ने मेलोकारुपमा ल्याइएको भनेको छ । एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चुनाव जित्ने गरी सत्तारुढले बजेट आफ्नो क्षेत्रमा खन्याएको आरोप लगाउनुभएको छ ।

आफू सत्तामा हुँदा पौडेल पनि कम हुनुहुन्थेन । अर्थमन्त्री रहँदा उहाँले रुपन्देहीलाई प्राथमिकतामा राख्नुभएको थियो । पौडेलले रुपन्देहीको भैरहवामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगाशाला बनाउन बजेट छुट्याउनुभएको थियो ।

उहाँकै पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा स्थानीय पालिकाले बनाउने भ्यूटावरसम्मका लागि झापाको दमकमा ठूलो राशीमा बजेट छुट्याउनुभएको थियो । लगातार ३ वर्षसम्म ओलीले आफ्नै गृहजिल्लालाई बजेटको पहिलो प्राथमिकतामा राख्नुभएको थियो । यी केही उदाहरणहरु मात्र हुन् ।

अहिले आर्थिक वर्षमा २०७९–८० को बजेटमा पनि अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याउनु भएको छ । यो बजेटमा पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरा र सत्ता गठबन्धनदल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गृह जिल्ला चितवनमा बजेट धेरै परेको छ ।

के डडेल्धुरामा अहिले मेडिकल कलेजको औचित्य छ ? यसको अध्ययन भएको छ ? चितवनमा सडक र भौतिक संरचना मात्र प्राथमिकतामा पारिनुपर्ने हो ? यस्ता थुप्रै प्रश्नहरु उठ्ने गरेका छन् । गठबन्धनबाट सरकार भएका कारणले समेत कांग्रेस र माओवादीका प्रभावशाली नेताहरुको जिल्लामा बजेटले प्राथमिकता दिइएको छ ।

यस अघिको सरकारका हुँदा पहुँचको भरमा लगिएको आयोजना कटौती गरिएको छ भने अहिले सत्तामा रहेका पार्टी नेताहरुको क्षेत्रमा नयाँ कार्यक्रम देखि योजनाहरु पारिएको छ । यसरी चुनाव नजिकिँदै गर्दा आफनो क्षेत्रमा पहुँचकै आधारमा बजेटको विनियोजन गरिएको छ । पुराना आयोजनाहरु अलपत्र पारिनु र नयाँ आयोजना मात्र थपिंदा विकासमा पर्ने प्रभावप्रति नेताहरु चिन्तित देखिँदैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *