Main News

कार्यपालिका सदस्य निर्वाचनमा पनि पाँच दलीय गठबन्धन गर्ने सहमति

हिमालय टिभी
२०७९ जेठ १६ गते १८:५६
कार्यपालिका सदस्य निर्वाचनमा पनि पाँच दलीय गठबन्धन गर्ने सहमति

१६ जेठ २०७९ काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनले बाँकी रहेका पालिकाहरुको कार्यपालिका सदस्य निर्वाचनमा ५ दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्ने निर्णय गरेको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले ७७ वटा जिल्ला समन्वय समितिमा पनि गठबन्धनबीच सहमति गरी अगाडि बढ्न आआफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन दिने निर्णय गरेको छ ।

बैठकपछि बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारुढ पाँच दलीय गठबन्धनले ७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरुको कार्यपालिका सदस्यको निर्वाचनमा ५ दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आआफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन गर्ने निर्णय गरेको बताउनुभयो ।

उहाँले गठबन्धन देशको आवश्यकता भएकाले आवश्यकता पूरा नहुउन्जेलसम्म कायमै रहने बताउनुभयो । मन्त्री कार्कीले संविधानले परिकल्पना गरेको समयसीमाभित्र नै आवधिक निर्वाचन हुने पनि स्पष्ट पार्नुभयो ।

त्यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निर्वाचनका बारेमा बैठकमा छलफल भएको बताउनुभयो । उहाँले सत्तारुढ पाँच दलीय गठबन्धनले ७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरुको कार्यपालिका सदस्यको निर्वाचनमा ५ दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आआफ्ना दलका प्रदेश र जिल्ला समितिहलाई निर्देशन गर्ने निर्णय गरेको स्पष्ट पार्नुभयो ।

पाँच दलीय गठबन्धनको बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, वरिष्ठ नेता रामचन्द्र पौडेल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *