राजनीति

सम्हालिएर अघि बढ्न कांग्रेस महामन्त्री थापाको निर्देशन

२०७९ जेठ १६ गते १८:२७
सम्हालिएर अघि बढ्न कांग्रेस महामन्त्री थापाको निर्देशन

१६ जेठ २०७९ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापाले गठबन्धनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सम्हालिएर जनभावनाअनुसार अघि बढ्न निर्देशन दिनुभएको छ ।

पाँच वर्षसम्म नेकपा (एमाले) नेतृत्वको सरकारले निरङ्कुशता लादेका कारण जनतामा राजनीतिक दलप्रति आक्रोश पैदा भएको बताउनुहुँदै उहाँले अबको नेतृत्वले नागरिकलाई सरकारको प्रत्याभूति गराउनुपर्ने बताउनुभयो ।

हेटौँडामा कांग्रेसले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले एमालेको नेतृत्वमा राजनीतिक संस्कार र जनभावना विपरीतका गतिविधि भएपछि आम जनता राजनीतिक दलप्रति नै बिच्किएको आरोप लगाउनुभयो ।

“पछिल्लो समय तीनै तहको सरकारमा एमालेको नेतृत्व हाबी थियो । केन्द्र, प्रदेश र स्थानीय तहको सरकारमा एमालेले नेतृत्व ग¥यो । लामो समयपछि भएको स्थानीय निर्वाचन र स्थिर सरकार गठन भयो भनेर जनता आशावादी भएका थिए । तर तत्कालीन सरकार जनताप्रति जिम्मेवार नहुँदा जनताको आशा, निराशा र आक्रोशमा बदलियो । दुई पटकसम्म संसद् विघटन गरियो । संविधानमाथि नै प्रहार भयो । नागरिकका अधिकार खुम्च्याउने प्रयास भयो । जसका कारण जनताको राजनीतिक दलप्रतिको धारणा नै गलत बन्दै गएको छ,” उहाँले भन्नुभयो ।

निरङ्कुशताको सजाय जनताले स्थानीय निर्वाचनमा उनीहरूलाई दिइसकेको बताउँदै महामन्त्री थापाले भन्नुभयो, “केही स्थानीय तहमा बाहेक केन्द्र, प्रदेश र स्थानीय स्तरमा अब एमालेको सरकार छैन । उनीहरूले सजाय पाइसके । अब आ–आफ्नो स्थानबाट जनहितका जिम्मेवारी पूरा गर्ने अवसर हामीले पाएका छौँ । अब हामी एमालेलाई दोष दिएर बस्ने होइन, जनताको मनोभावनाअनुरुप काम गर्ने हो ।”

आफ्ना काम जनतासँग जोड्न आग्रह गर्दै उहाँले भन्नुभयो, “हामीलाई अब छुट छैन । जनताले छुट दिने छैनन् । सङ्कल्प गरौँ, पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गरौँ । संविधानले नागरिकलाई दिएको अधिकार कटौती होइन, अझै बढाऔँ । स्थानीय जनताको हितमा काम गरौँ ।”

उम्मेदवार दोहोर्‍याउने र मतदाताको मनोभावना विपरीतको उम्मेदवार पार्टीले अघि सार्दा नसोचेको ठाउँमा पराजय व्यहोर्नु परेको समेत थापाले बताउनुभयो ।

थापाले बागमती प्रदेशको राजधानी हेटौँडामा एमालेको विरासत ढालेर उदाएको गठबन्धनले जनभावना अनुरुपको काम गर्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, हेटौँडा उपमहानगरपालिकाकी नवनिर्वाचित प्रमुख मीना लामा, उपप्रमुख राजेश बानियाँ, कांग्रेसका जिल्लास्तरका नेताहरू र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्