Main News

विमान दुर्घटनामा ज्यान गुमाएका १६ जनाको शव फेला, बाँकीको खोजी जारी

हिमालय टिभी
२०७९ जेठ १६ गते १७:०५
विमान दुर्घटनामा ज्यान गुमाएका १६ जनाको शव फेला, बाँकीको खोजी जारी

१६ जेठ २०७९ काठमाडौं । मुस्ताङमा दुर्घटना भएको तारा एयरको विमानमा सवार २२ जनामध्ये १६ जनाको शव संकलन भएको छ ।

विमानमा सवार कसैलाई पनि जिवित अवस्थामा भेट्ने सम्भावना नरहेको उद्धारमा सहभागी सुरक्षाकर्मीले बताएका छन् । शव भेटिएकामध्ये केहीको चिनिने अवस्था र केहीको भने क्षतविक्षत अवस्थामा शव भेटिएको छ ।

हिजो सम्पर्कविहीन भएको विमान आज बिहान मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरे डाँडामा भेटिएको थियो। स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको थियो । जहाज पुरै टुक्राटुक्रा अवस्थामा छ ।

दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने छ । दुर्घटनामा परेका सबैको शव सिधै काठमाडौं ल्याइने छ । शव काठमाडौं ल्याएपछि आफन्तको जिम्मा लगाइने त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । १९ यात्रु र चालक दलका ३ सदस्यसहित हिजो बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी जहाज सम्पर्कविहीन भएको थियो ।

खोजी गर्दै जाँदा आज बिहान १४ हजार ५०० फिट इचाइमा विमान दुर्घटना भएको अवस्थामा फेला परेको थियो । जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रशासन अधिकृत देवेन्द्र पाण्डेले यार्सा टिप्न गएकाहरुले विमान दुर्घटना भएको तस्वीरसहित जानकारी गराएको बताउनुभयो ।

गत कातिक २८ गते मानापाथी हिमालको फेदीमा हिमपहिरो गएकै स्थान नजिकै विमान दुर्घटना भएको हो । विमानमा धनुषाका एकै परिवारको सातजना रहेको पुष्टि भएको छ । हिजो दिनभर खोजी गरिए पनि विमान नभेटिएपछि आज बिहान ५ बजेदेखि फेरि खोजी शुरु गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *