Main News

नीति तथा कार्यक्रममा छलफल : छलफल छाडेर घोचपेच (भिडियो रिपोर्टसहित)

२०७९ जेठ १४ गते २०:२७
नीति तथा कार्यक्रममा छलफल : छलफल छाडेर घोचपेच (भिडियो रिपोर्टसहित)

१४ जेठ २०७९ काठमाडौं । संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा शीर्ष नेताहरु भने विषयभन्दा विषय बाहिर बरालिए । नीति तथा कार्यक्रमभन्दा उनीहरुले संसदमा प्राप्त महत्वपूर्ण समय एकअर्कालाई घोचपेच गर्नमै खर्चिए ।

नीति तथा कार्यक्रममाथिको छलफल सोही विषयमा केन्द्रित हुनुपर्ने हो । तर, विडम्बना संसदमा नीति तथा कार्यक्रममाथिको छलफल होइन शीर्ष भनिएका नेताहरु वादविवाद प्रतियोगिताका सहभागीजस्ता देखिएका छन् ।

यसको शुरुवात भने संसदको सबैभन्दा ठूलो दलसमेत रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो । ३ घण्टा बोलेका ओलीले अधिकांश समय सरकार र नेपाली कांग्रेसको आलोचनामा खर्चनुभयो ।

अध्यक्ष ओलीले शुरु गरेको घोचपेचले चित्त दुखाएका सत्तारुढ दलका सांसदहरु पनि जवाफी घोचपेचमै उत्रिए । शुक्रबार नीति तथा कार्यक्रममा बोल्न समय पाएका कांग्रेस सांसद गगन थापाले ओलीलाई जवाफ फर्काउँदै कुण्ठाको जवाफ नदिने भन्दै घोचपेच गरिहाल्नुभयो ।

एमाले अध्यक्ष ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि कटाक्ष गर्नुभएको थियो । जवाफमा प्रचण्डले विगतमा संसद विघटन गरेर ओलीले देशलाई दुर्घटनामा पार्न खोजेको भन्दै आलोचना गर्नुभयो ।

भरतपुर महानगरपालिकामा मतदातालाई धम्क्याएको ओली आरोपको जवाफ दिँदै प्रचण्डले ओलीलाई विगतमा आफूले प्रधानमन्त्री बनाइदिएको कुरा नविर्सन भन्दै अब पुनः प्रधानमन्त्री बनेर देखाउन चुनौती दिनुभयो ।

संसदमा के विषयमा छलफल भइरहेको हो भन्ने हेक्का पटक पटक सांसद भइसकेका सांसदहरुलाई हुनुपर्ने हो । तर, नीति तथा कार्यक्रमको बहसलाई ठुला दलका शिर्ष नेताहरुनै विषयवस्तु केन्द्रित छलफलभन्दा संसदमा प्राप्त समयलाई कुण्ठा र आरोपप्रत्यारोप पस्कनमा नै खर्चिन उद्यत हुनु दुखद् विषय हो । संसदमा प्राप्त समयलाई विषय केन्द्रित बनाउनतर्फ सांसदहरुको ध्यान पुग्नैपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *