Main News

निर्वाचन परिणामले एमाले अध्यक्ष ओली रन्थनिएरको कांग्रेस महामन्त्री थापाको तर्क (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ १४ गते १४:२७
निर्वाचन परिणामले एमाले अध्यक्ष ओली रन्थनिएरको कांग्रेस महामन्त्री थापाको तर्क (भिडियो रिपोर्टसहित)

१४ जेठ २०७९ काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा दिएको अभिव्यक्ति गन्थन मात्रै भएको टिप्पणी गर्नु भएको छ ।

स्थानीय चुनावमा रन्थनिएको बेला ओलीले सरकारको नीति तथा कार्यक्रममाथि गन्थन मात्रै प्रस्तुत गरेको उल्लेख गर्दै महामन्त्री थापाले त्यसको जवाफ दिइरहन आवश्यक नभएको तर्क समेत गर्नु भयो । आज सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले ओलीको अभिव्यक्तिमा निर्वाचनमा हार व्यहोरेको कुण्ठाबाहेक कुनै प्रश्न नभएको, विचार नभएको र असहमति पनि नभएको जिकीर समेत गर्नुभयो ।

निर्वाचनको हारपछि रन्थनिएको बेला ओलीले संसदमा बसेर, उठेर जसरी बोलेपनि आफ्नो सहानुभूति रहेको महामन्त्री थापाको भनाइ थियो । उहाँले विपक्ष दलको नेताले कहाँ, कसरी बोल्ने भन्नेबारेमा हेक्का राख्नुपर्ने धारणा समेत राख्नुभयो ।

महामन्त्री थापाले भन्नु भयो, ‘नीति तथा कार्यक्रममाथिको छलफलको प्रारम्भमा नै करिव घन्टौको एउटा लामो गन्थन प्रस्तुत भइसके पछाडि मलाई केही साथीहरुले भन्नु भयो–यो गन्थनमा व्यक्त भएको प्रत्येक कुराको जवाफ दिनुपर्छ । मैले साथीहरुलाई भने–प्रश्नको उत्तर हुन्छ । विचारमा टिप्पणी हुन्छ । प्रतिक्रियामा सहमति व्यक्त हुन्छ । असहमती व्यक्त हुन सक्छ । तर कुण्ठामा त्यस्तो केही पनि हुँदैन । कुण्ठामा केवल सहानुभूति मात्रै प्रकट हुन्छ । त्यसैले यो बेलामा साथीहरुले भन्नु भो–घण्टौ बसेर बोल्ने ? मैले भने यतिखेर रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोले पनि हुन्छ । पलेँटी कसेर बोलेपनि हुन्छ । एक खुट्टामा टेकेर बोले पनि हुन्छ । अहिले हामीले सुनिदिनुपर्छ । कहाँ बोल्ने, कहिले बोल्ने भन्ने कुरा बोल्नेले हेक्का राख्ने कुरा हो । हामी केवल विचारा मात्रै भन्न सक्छौ, यति हो । निर्वाचन हुँदैन–हुँदैन भनियो । शानदार ढंगले निर्वाचन भयो । त्यो पनि एकैपटक सम्पन्न भयो ।’

महामन्त्री थापाले सरकारले मंसीरमा संघ र प्रदेशको चुनाव सम्पन्न गराउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । स्थानीय तहको निर्वाचन शान्दार ढंगले एकैपटक सम्पन्न गराएको सरकारले मंसीरभित्र संघ र प्रदेशको चुनाव गराउने उहाँले बताउनु भयो ।

उहाँले मुलुकमा गम्भिर ढंगले आर्थिक संकेट देखा परेको उल्लेख गर्दै त्यसलाई हल गरेर अघि बढन सरकारले पेट्रोलियम पदार्थमाथिको परनिर्भरता हटाउने गरी महत्वकांक्षी योजनाका साथ काम गर्नुपर्ने बताउनुभयो । पूर्वमन्त्रीसमेत रहनु भएका महामन्त्री थापाले आयात प्रतिस्थापन गरेर मात्रै मुलुकको आर्थिक संकट पार्न सकिने भएकाले त्यस विषयमा सरकारलाई गम्भिर बन्न पनि ध्यानाकर्षण गराउनुभयो ।

महामन्त्री थापाले सरकारले परराष्ट्र नीतिलाई सन्तुलित ढंगले अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *