समाज

सरकारले गेटा मेडिकल कलेजलाई बेवास्ता गरेको भन्दै विरोध (भिडियो रिपोर्टसहित)

२०७९ जेठ १३ गते २१:०७
सरकारले गेटा मेडिकल कलेजलाई बेवास्ता गरेको भन्दै विरोध (भिडियो रिपोर्टसहित)

१३ जेठ २०७९ कैलाली । कैलालीमा सञ्चालनको पर्खाइमा रहेको गेटा मेडिकल कलेजलाई सरकारले वेवास्ता गरेको भन्दै विरोध शुरु भएको छ । पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिँदा पनि सञ्चालनमा बेवास्ता गरिएको भन्दै धनगढी र अतरियाका स्थानीयले विरोध गरिरहेका छन् ।

कैलालीको गेटामा मेडिकल कलेजका लागि भन्दै ९० प्रतिशत संरचना तयार भइसकेका छन् । तर प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नयाँ मेडिकल कलेज खोल्न तयार भएको सरकारले वार्षिक नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेजको नामसमेत समावेश गरेन ।

मेडिकल कलेज सञ्चालनमा सरकारको विभेदपूर्ण शैलीको विरोध गर्दै सुदूरपश्चिम प्रदेशका नागरिकले दबाब र आन्दोलन सुरु गरेका छन् । गेटा मेडिकल कलेज सञ्चालानार्थ संघर्ष समिति अत्तरियाले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्रमा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउनुपर्ने, मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अगाडि बढाउनुपर्ने, मेडिकल कलेज सञ्चालनका लागि आगामी आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरिनुपर्ने लगायतका माग राखिएका छन् ।

सुदूरपश्चिमको स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि ठूलो उपलब्धी हुने ठानिएको मेडिकल कलेज चाँडो सञ्चालनमा ल्याउँन माग गर्दै बिहीबारदेखि धनगढी र अतरियामा प्रदर्शन भइरहेको छ । गेटामा मेडिकल कलेज सञ्चालनमा आए, सुदूरपश्चिमको स्वास्थ्य तथा शिक्षामा ठूलो क्रान्ति हुने विश्वास यहाँका नागरिकले गरेका छन् ।

कैलालीको गेटामा २०७३र०७४ बाट निर्माण सुरु भएको मेडिकल कलेजको ९० प्रतिशत काम पूरा भएको छ । तर अस्पतालका लागि आवश्यक उपकरण, फर्निचर र जनशक्तिको व्यवस्थापन भएको छैन । सरकारले मेडिकल कलेजको प्रारुपको टुंगो नलगाएकाले उपकरण र जनशक्ति व्यवस्थापनमा पनि समस्या देखिएको हो ।

संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय माहतको मेडिकल कलेज पूर्वाधार विकास समिति गेटाले उपकरण खरिद तथा जडान, फर्निचर खरिद र जनशक्ति व्यवस्थापनका लागि ५ अर्ब ९० करोड बजेट माग गरेको छ । तर सरकारले भने कुनै भौतिक संरचना नै नभएको डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने तर निर्माणको काम अन्तिम चरणमा पुगेको अस्पताल सञ्चालनमा बेवास्ता गर्ने काम गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *