राजनीति

रुपन्देहीमा एमाले खुम्चिनुको मुख्य कारण प्रदेश राजधानी ! (भिडियो रिपोर्टसहित)

२०७९ जेठ १३ गते २१:०२
रुपन्देहीमा एमाले खुम्चिनुको मुख्य कारण प्रदेश राजधानी ! (भिडियो रिपोर्टसहित)

१३ जेठ २०७९ बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको २ उपमहानगरपालिकामा नेकपा एमालेले शानदार रुपमा जित हासिल गर्दा अस्थायी राजधानी रुपन्देहीमा भने एमाले ३ पालिकामा खुम्चिन परेको छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङ हो भने उपाध्यक्ष विष्णु पौडेलको गृह जिल्ला रुपन्देही हो । रुपन्देहीमा एमाले खुम्चिनुको मुख्य कारण प्रदेशको राजधानीलाई मानिएको छ ।

नेकपा एमालेका उपमहासचिव शंकर पोखरेलको गृह जिल्ला दाङको घोराही र तुलसीपुर उपमहानगपालिकामा शानदार रुपमा एमाले विजयी हुँदा उपाध्यक्ष विष्णु पौडेलको गृह जिल्लामा भने एमाले खुम्चिएको छ । बुटवल उपमहानगरपालिकामा एमालेले २५ वर्षसम्म आफ्नो दबदबा कायम राखेको थियो ।

तर यो पटकको स्थानीय निर्वाचनमा एमालेका बाबुराम भट्टराईलाई साढे ७ हजार मतान्तरले पछि पार्दै नेपाली कांग्रेसका खेलराज पाण्डेय मेयरमा निर्वाचित हुनुभयो । १९ वटा वडा रहेको बुटवलमा उपप्रमुखसहित ४ वटा वडामा मात्र एमाले विजयी भयो ।

उपमहानगरपालिका मात्र होइन रुपन्देही जिल्ला मै यो पटक एमाले खुम्चिएको छ । २०७४ को निर्वाचनमा ७ स्थानीय तहमा विजयी भएको एमाले यो पटक ३ स्थानीय तहमा विजयी भएको छ । यो पटकको नतिजा एमाले नेताहरु अस्वभाविक लागेको छ ।

तत्कालिन नेकपाका महासचिव रहेका विष्णु पौडेलले बुटवललाई नै प्रदेशको स्थायी राजधानी बनाउने भन्दै बुटवलबासीलाई आश्वासन दिलाउनु भएको थियो । तर तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाको दुई तिहाई मतसहित दाङलाई स्थायी राजधानी तोक्नुभयो ।

त्यस बेला रुपन्देहीमा एमालेले त्यसको विरोध गर्न समेत सकेन । त्यस बेला पौडेललाई अर्थमन्त्रीसँग राजधानी साटेको आरोप पनि लाग्यो । यही कारण एमाले रुपन्देहीमा खुम्चिन पुगेको राजनीतिक विश्लेषकको टिप्पणी छ ।

यो स्थानीय निर्वाचनमा रुपन्देहीमा कांग्रेसलाई फाइदा भएको छ । २०७४ को निर्वाचनमा २ स्थानीय तहमा सिमित कांग्रेसले यो पटक १६ मध्ये १० स्थानीय तहको प्रमुख जितेको छ ।

रुपन्देहीमा अधिकांश स्थानीय तहको प्रमुख पद एमालेले गुमाए पनि उपप्रमुखमा पद भने विजयी भएको छ । स्थानीय तहको निर्वाचनमा खुम्चिएको एमालेले अब हुने प्रदेश र संघीय निर्वाचनमा कस्तो मत परिणाम ल्याउला यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्