स्थानीय तह निर्वाचन : मधेस प्रदेशमा माओवादी केन्द्र पाँचौँ

२०७९ जेठ १३ गते ९:२५
स्थानीय तह निर्वाचन : मधेस प्रदेशमा माओवादी केन्द्र पाँचौँ

१३ जेठ २०७९ जनकपुर । नेकपा (माओवादी केन्द्र) मधेस प्रदेशमा पाँचौँ शक्तिको रूपमा सीमित भएको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुँदा माओवादी केन्द्रले मधेस प्रदेशमा आफ्नो पकड गुमाएको हो ।

सम्पन्न निर्वाचनम प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) ठूलो शक्ति बनेको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा मधेस प्रदेशको १९ स्थानीय तह जितेको माओवादी केन्द्रले यसपालि १० वटा स्थानीय तह गुमाएको छ ।

माओवादीले मधेस प्रदेशका आठव जिल्लामध्ये महोत्तरी र पर्सामा खातासमेत खोल्न सकेन । जबकि अघिल्लो निर्वाचनमा सो पार्टीले महोत्तरीको गौशाला, बर्दिबास, रामगोपालपुर नगरपालिका सहित साम्सी गाउँपालिका र पर्साको छिपहरमाई तथा ठोरी नगरपालिकाको प्रमुख–उपप्रमुख जितेको थियो ।

माओवादी केन्द्रले गत २०७४ मा प्रमुख र उपप्रमुख जितेको स्थानीय तहमध्ये दुईवटा पालिकामा मात्रै आफ्नो साख जोगाउन सकेको छ । विसं तत्कालीन चुनावमा मधेस प्रदेशका १३६ पालिकामध्ये १९ पालिकाको प्रमुख र उपप्रमुख दुवै पद माओवादी केन्द्रले जितेको थियो ।

माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा जितेकामध्ये सिरहाको मिर्चैया नगरपालिका र सर्लाहीको बागमती नगरपालिकामा मात्रै आफ्नो पुरानो साख जोगाउँदा बाँकी अन्य दलले खोसेका छन् । यसपालि ती १९ मध्ये दुई पालिकाको प्रमुख र उपप्रमुखमा मात्रै माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले दुवै पद जितेर आफ्नो गढ बनाएको मधेस प्रदेशका स्थानीय तहमा यसपालि एमाले, कांग्रेस र जनता समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन् । मधेस प्रदेशमा माओवादी केन्द्रबाट सबैभन्दा बढी सिट एमालेले खासेको छ ।

यसअघि स्थानीय तह निर्वाचनमा १७ पालिकामध्ये धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, कर्जन्हा नगरपालिका, अर्नमा गाउँपालिका र औरही गाउँपालिकाको प्रमुख र उपप्रमुख जितेर माओवादी केन्द्रले सिरहामा आफ्नो गढ बनाएको थियो । तर पाँच वर्षपछि भएको स्थानीय निर्वाचनमा त्यो साखलाई कायम राख्न सकेन र एउटा मिर्चैया नगरपालिकाको प्रमुख–उपप्रमुखले मात्र निरन्तरता पाउन सकेका छन् ।

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको कर्जन्हा, धनगढीमाई र गोलबजार नगरपालिकामा एमालेले जितेको छ भने औरही र अर्नमा गाउँपालिका जनता समाजवादी पार्टी (जसपा)ले खोसेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा सप्तरीको एउटा पनि स्थानीय तहको प्रमुख वा उपप्रमुख जित्न नसकेको सप्तरीमा भने माओवादी केन्द्रले यसपालिको चुनावमा सप्तरीको खडक नगरपालिकाको प्रमुख र छिन्नमस्ता गाउँपालिकाको उपाध्यक्ष जितेको छ । अधिकांश स्थानीय तहहरूमा वडाध्यक्ष जितेका छन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा धनुषाको सहिदनगर नगरपालिका र विदेह नगरपालिकाको प्रमुख–उपप्रमुख जितेको माओवादी केन्द्रले यस पालिकाको स्थानीय तह निर्वाचनमा ती दुवै स्थानीय तह गुमाएको छ । यी स्थानीय तहमध्ये सहिदनगर नगरपालिका जसपा र विदेह नगरपालिका नेकपा (एकीकृत समाजवादी)ले माओवादीबाट खोसेको छ । धनुषाको सबैला नगरपालिकामा प्रमुख र उपप्रमुख जितेर माओवादीले आफ्नो अस्तित्व जोगाएको छ ।

गत २०७४ को स्थानीय तह निर्वाचनमा सर्लाहीको बागमती नगरपालिका, बरहथवा नगरपालिका र चक्रघाटा गाउँपालिकामा जितेको माओवादी केन्द्रले बागमती नगरपालिकामा आफ्नो पुरानो साख जोगाउँदा बरहथवा र चक्रघट्टा गाउँपालिका गुमाएको छ । तर सर्लाहीको हरिवन नगरपालिका, बलरा गाउँपालिकामा माओवादीले जित हासिल गरेर सर्लाहीमा जितेको स्थानीय तहको सङ्ख्या चार पु¥याएको छ ।

अघिल्लो स्थानीय तह निर्वाचनमा रौतहटको मौलापुर, यमुनामाई, कटहरिया माधवनारायणमा जित हासिल गरेको माओवादी केन्द्रले यसपालिको निर्वाचनमा ती सबै पालिका गुमाउँदा दुर्गा भगवती गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष मात्र जित्न सकेको रौतहटका माओवादी नेता जितेन्द्र श्रीवास्तवले जानकारी दिनुभयो ।

मधेस प्रदेशको तीन उपमहानगरपालिकामध्ये दुईवटा उपमहानगरपालिकासहित १६ स्थानीय तह रहेको बारामा पनि माओवादी कमजोर देखिएको छ । अघिल्लो निर्वाचनमा बाराको एउटा पनि स्थानीय तह जित्न नसकेकोे माओवादीले यसपालिको निर्वाचनमा भने बाराको सिमरा उपमहानगरपालिकाको प्रमुख जितेको छ । पाँचदलीय गठबन्धनको भागमा परेपछि सिमरा उपमहानगरपालिकाको प्रमुख माओवादीले जित्दा उपप्रमुख कांग्रेसले जितेको छ ।

यी परिणामले पनि अघिल्लो चुनावमा भन्दा अहिलेको चुनावमा मधेस जिल्लामा माओवादी केन्द्र कमजोर भएको पुष्टि गरेको छ । यसरी माओवादी कमजोर हुनुका पछाडि विभिन्न कारण भए पनि मुख्य कारण पार्टीभित्रको आन्तरिक द्वन्द्व र पार्टी सङ्गठन सुदृढीकरणमा नेता कार्यकर्ताको ध्यान नपुग्नु नै रहेको विश्लेषकहरूको भनाइ छ ।

“हाम्रो आन्तरिक कलहको केन्द्रविन्दु नै मधेस प्रदेश नै हो”, माओवादीका नेता दिलीप साहले भन्नुभयो, “पार्टीभित्र विभिन्न समूह सक्रिय रहेकाले पनि चुनावी परिणाममा असर परेको हो ।” यसबाहेक मधेसमा एमालेको सक्रियता बढ्नु र माओवादीले नयाँलाई भन्दा पहिला जितेकैलाई उम्मेदवार बनाउनु पनि पार्टीको चुनावी परिणाम निराशाजनक आउनुको मुख्य कारण भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *