Main News

महानगरपालिकामा एमाले शून्य, नेतृत्वमा भने अहम कायमै (भिडियो रिपोर्टसहित)

२०७९ जेठ ११ गते २१:०४
महानगरपालिकामा एमाले शून्य, नेतृत्वमा भने अहम कायमै (भिडियो रिपोर्टसहित)

११ जेठ २०७९ काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । निर्वाचनमा ६ महानगरपालिकामध्ये संसदकै सबैभन्दा ठूलो दल नेकपा एमालेले कुनै पनि महानगरमा जित हासिल गर्न सकेन ।

वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट प्रमुख प्रतिपक्षी एमाले खुम्चिएर दोस्रो दलमा झर्दा नेपाली कांग्रेस पहिलो बन्ने निश्चित छ । २०७४ को स्थानीय तह निर्वाचनमा दुई महानगरपालिकाको नेतृत्व गरेको एमाले अहिले भने ६ वटै महानगरमा पराजित भएको छ ।

६ महानगरपालिकामध्ये सबैजसो महानगरमा सहज जीत निकाल्ने अनुमान गरेको एमाले अन्ततः नराम्रोसँग थेचारिएको छ । एमाले नेताहरूले निर्वाचनमा चमत्कार गर्ने दाबी गरे पनि चुनावी परिणाम त्यसको विपरीत आयो । एमाले नेताहरू अहिले सोचेजस्तो परिणाम आउन नसक्नुमा सत्तागठबन्धन प्रमुख कारण रहेको बताउन थालेका छन् ।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट पहिलो दल बनेको एमालेले यसपटक २ सय ३ स्थानीय तहको प्रमुख जितेको छ । भने बाँकी केही पालिकाको जारी मतगणनामा उसले दुई ठाउँको प्रमुखमा अग्रता लिएको छ । अघिल्लोपटक काठमाडौं र पोखरा महानगरपालिकासहित स्थानीय तहको परिणाम आफ्नो पक्षमा पारेको एमाले यसपटक सबै महानगरपालिकामा प्रमुख पद गुमाएको छ ।

२०७४ को निर्वाचनमा कांग्रेस–एमालेले समान २–२ महानगर जितेका थिए भने माओवादी र जसपाले १–१ स्थानमा जित हासिल गरेका थिए । एमालेले महानगरमा मात्रै नभएर उपमहानगर पनि गुमाएको छ ।

२०७४ मा हेटौंडा, इटहरी, जितपुर सिमरा, तुलसीपुर, घोराही र बुटवल उपमहानगरपालिकामा जितेको एमालेले अहिले तीन वटा उपमहानगर मात्रै आफ्नो पक्षमा पार्न सफल भयो । २०७४ को स्थानीय तह निर्वाचनमा पहिलो बनेको एमालेले २ सय ९४ पालिकामा प्रमुख, ३ सय ३१ पालिकामा उपप्रमुख, २ हजार ५६० वडा अध्यक्ष र १० हजार ९१२ जना वडा सदस्य जितेको थियो ।

२०७४ को संघ र प्रदेशसभा निर्वाचनमा माओवादीसँग गठबन्धन गर्दै एतिहासिक जित निकालेको एमाले त्यही गठबन्धन र एमाले नै पनि बचाउन नसक्दा स्थानीय तह निर्वाचनमा खुम्चिनु परेको छ ।

अर्कोतर्फ सत्तारुढ दलहरुको पाँच दलीय गठबन्धन एमालेका लागि थप बाधक बन्यो । तर, पार्टीको अवस्था कमजोर हुँदै जाँदा र आम मतदाताले दिएको विश्वास कमजोर भइसक्दा पनि नेतृत्वमा भने अभूतपूर्व अहम कायमै देखिन्छ ।

यो अहमबाट मुक्त नभए मतदाताले फेरि पनि एमालेलाई पहिलो पार्टी बनाउलान् भन्न सकिने अवस्था छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *