महानगरपालिकामा शून्य एमाले, उपप्रमुखमा जित निकाल्न भने कसरी सम्भव भयो ? (भिडियो रिपोर्टसहित)
११ जेठ २०७९ काठमाडौं । महानगरपालिकामा शून्य भएको र उपमहानगरपालिकामा पनि पकड गुमाएको नेकपा एमालेले उपमेयरमा भने धेरै स्थानमा विजयी भएको छ । प्रमुख गुमाएर उपप्रमुखमा मात्रै भए पनि जित निकाल्न एमालेका लागि कसरी सम्भव भयो त ?
नेकपा एमाले २०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं र पोखरा महानगरपालिकाको प्रमुखमा विजयी भएको थियो । तर यसपटक नेकपा एमालेले पहिले विजयी भएका २ महानगरपालिकाको नेतृत्व मात्रै गुमाउनु परेन अघिल्लो निर्वाचनमा विजयी भएका ७ वटा उपमहानगरपालिबाट पनि खुम्चिएर तीन उपमहानगरपालिकामा सीमित भएको छ ।
यो पटक एमालेले दाङको तुलसीपुर र घोराही तथा बाराको कलैया उपमहानगरपालिका मात्रै नेतृत्व जित्न सफल भयो । महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वमा आफ्नो पकड गुमाएको एमालेले उपप्रमुखमा भने आफूलाई बलियो बनाएको छ ।
यसअघि उपप्रमुख जित्न नसकेको काठमाडौं, ललितपुर महानगरपालिकाको उपप्रमुखमा एमाले विजयी भएको छ । त्यस्तै यसअघि आफूले जितेको पोखरा महानगरपालिकाको उपप्रमुखमा पनि एमाले नै विजयी भयो । विराटनगर महानगरपालिकाको उपप्रमुखमा पनि एमालेले नै बाजी मार्यो ।
यी सबै महानगरपालिकाका उपमेयरमा एमालेले सत्तागठबन्धनका उम्मेदवारलाई पराजित गरेको हो । ११ उपमहानगर मध्ये धनगढी, कलैया, जितपुर(सिमरा, इटहरी, बुटवल, घोराही, तुल्सीपुर उपमहानगरपालिकाको उपप्रमुखमा नेकपा एमाले बिजयी भएको छ । प्रमुख पद गुमाएर पनि उपप्रमुखमा विजयी हुनु एमालेको संगठन अहिले पनि मजबुत रहेको सन्देश दिएको विश्लेषण भैरहेको छ ।
प्रमुख र उपप्रमुख पदमा तालमेल गरेर निर्वाचनमा गएको गठबन्धनले मतदातालाई राम्रोसँग बुझाउन नसक्दा पनि एमालेलाई फाइदा भएको ठानिन्छ । गठबन्धनले राम्रोसँग मतदातालाई बुझाउन सकेको भए उपप्रमुखमा पनि एमालेलाई धक्का लाग्ने विश्लेषकको बुझाइ छ ।
विगतमा भन्दा यो निर्वाचनमा धेरै मत बदर भएको छ । बदरमतको यकिन संख्या आइ नसके पनि गठबन्धनले तालमेल गरेका स्थानमा धेरै मत बदर भएको छ । बदर मत बढी हुनु एमालेका लागि अनुकुल भएको हुन सक्ने अनुमान पनि गरिएको छ । महानगरपालिका र उपमहानगरपालिकामा मात्रै नभएर नगरपालिका उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षमा पनि नेकपा एमालेले राम्रो नतिजा ल्याएको छ ।
प्रतिक्रिया