Main News

एमालेले पोखरा महानगरको नेतृत्व गुमाउनुको कारण (भिडियो रिपोर्टसहित)

२०७९ जेठ ११ गते २०:४७
एमालेले पोखरा महानगरको नेतृत्व गुमाउनुको कारण (भिडियो रिपोर्टसहित)

११ जेठ २०७९ पोखरा । पोखरा महानगरपालिकामा २०५४ सालदेखि निरन्तर जित निकाल्दै आएको नेकपा एमालेले यो पटक नतिजा आफ्नो पक्षमा पार्न सकेन । यस पटक महानगरको मेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका धनराज आचार्य विजयी हुनुभयो ।

उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङलाई कार्यकाल दोहोर्‍याउने जिम्मेवारी जनताले दिए । पार्टीभित्रको असन्तुष्टि, उम्मेदवार छनौटमा कमजोरी र गठबन्धन दलका मतदाताको इमान्दारिता जस्ता कारणले एमालेले पोखरा महानगरको नेतृत्व गुमाएको विश्लेषण गरिएको छ ।

२०५४ सालदेखि निरन्तर जित्दै आएको एमालेले पोखरा महानगरको नेतृत्व खोसिएला भन्ने सोचेकै थिएन । २०७४ सालको निर्वाचनमा झण्डै १४ हजार मतले नेतृत्व आफ्नो हातमा पारेको एमालेले यसपटक २० हजारभन्दा बढी मतान्तरले जित निकाल्ने अपेक्षा गरेको थियो ।

२०७४ को निर्वाचनमा कांग्रेस र माओवादीको गठबन्धनलाई फराकिलो अन्तरले पछि पारेको एमालेले आफूबाट टुक्रिएको एकीकृत समाजवादी जोडिँदा खास असर नपर्ने बुझेको थियो । अझै गठबन्धनको तर्फबाट एकीकृत समाजवादीलाई मेयर पदको टिकट दिएपछि कांग्रेसभित्र चलेको अन्तरविरोध हेरेर आफ्नो जितमा ढुक्क थियो, एमाले । तर, मत गणनाको अन्तिम परिणाममा गठबन्धनका उम्मेदवारले ६ हजार मतले पछि पारेपछि एमाले अक्क न बक्कको अवस्थामा पुगेको छ । हार स्वीकार गर्न नसकेको एमाले, गठबन्धनले शक्तिको दुरुपयोग गरेको, अनैतिक रुपमा पैसाको चलखेल गरेको आरोप लगाइरहेका छ ।

पार्टी उपमहासचिवले यसो भनिरहँदा, एमाले संगठन विभाग प्रमुख खगराज आचार्य र उपमहासचिव पृथ्वीसुब्बा गुरुङबीच देखिएको खेमागत लडाईँले एमालेका मेयर उम्मेदवार कृष्ण थापाले पराजय बेहोरेको कार्यकर्ताको बुझाई छ ।

मेयर पद गुमाउँदै गर्दा उपमेयरकी उम्मेदवार मञ्जु गुरुङले भने ४ हजारको मतान्तरसहित जित निकाल्दै कार्यकाल दोहोर्याउने अवसर पाउनुभयो । पार्टी भित्र व्यक्तिवादी सोच हावी हुनु, अरु शक्तिलाई कमजोर आँक्नु, सही उम्मेदवारको छनौट नगर्नु जस्ता कारण एमाले पराजित भएको विश्लेषक बताउँछन् ।

गठबन्धनकातर्फबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले पोखरामा पार्टी टुक्रनु अघि एमालेका विभिन्न नेतालाई स्थापित गर्न गरेको योगदानका कारण जित सहज भएको एकीकृत समाजवादीको बुझाई छ । एमालेको मत पाएर नै विजयी भएको स्वयम् नेकपा एकीकृत समाजवादीका नेताहरुपनि स्वीकार गरिरहेका छन् । महानगरका कांग्रेस नेता कार्यकर्ताले आफ्नो उम्मेद्वार बनाउनुपर्ने माग गरेपनि मतदानको दिन गठबन्धनप्रति इमान्दारिता देखाएको कांग्रेसको निष्कर्ष छ ।

एमालेकै मतका कारण धनराज आचार्यको जित संभव भएको धेरैको तर्क छ । पोखराको १५ औँ मेयर बनेका धनराज आचार्यको कार्यकाल कस्तो होला त्यो भने पोखरेली नागरिकको प्रतिक्षाको विषय बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *