Main News

पोखराको मतगणना अन्तिमचरणमा, गठबन्धनको अग्रता

२०७९ जेठ ९ गते १३:४६
पोखराको मतगणना अन्तिमचरणमा, गठबन्धनको अग्रता

९ जेठ २०७९ पोखरा । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ ।

वैशाख ३१ गतेदेखि सुरु भएको गणनामा कूल एक लाख ४३ हजार २२६ मत खसेकामा आज मध्यान्ह १२ः३० बजेसम्म एक लाख २५ हजार ५२० मतको गणना सकिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज रातिसम्म पोखराका सबै वडाको अन्तिम परिणाम सार्वजनिक हुने जनाएको छ । पोखरामा अब १७ हजार ७०६ मत गन्न बाँकी छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्मको अद्यावधिक विवरणानुसार सत्ता गठबन्धनबाट प्रमुखका साझा उम्मेदवार नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्यले चार हजार २९ मतको अग्रता बनाउनुभएको छ ।

आचार्यले ५० हजार ६१२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रत्याशी नेकपा(एमाले)का कृष्णबहादुर थापाले ४६ हजार ५८३ मत प्राप्त गर्नुभएको छ । गणना अन्त्यतिर पुग्नै लाग्दा आचार्यले मतान्तर फराकिलो बनाउनुभएको हो ।

मतगणनाको सुरुआतदेखि नै अग्रता बनाउनुभएका आचार्यले मतगणना अन्तिम चरणमा पुग्दासम्म आफ्नो अग्रता कायमै राख्न सफल हुनुभयो । महानगर प्रमुखमा राप्रपाका शङ्कर खरालले पाँच हजार ३३७ मत प्राप्त गर्नुभएको छ । यसैगरी स्वतन्त्र उम्मेदवार गनेश पौडेलको दुई हजार ८६४ मत ल्याउनुभएको छ ।

यसैगरी महानगरको उपप्रमुखमा भने नेकपा(एमाले)का उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता कायमै छ । गुरुङले ५३ हजार १७३ मत प्राप्त गरी अग्रता बनाउँदा उहाँका निकटतम प्रत्याशी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटको ४९ हजार ५८६ मत रहेको छ । गठबन्धनका उम्मेदवार रानाभाट तीन हजार ५८७ मतले पछाडि पर्नुभएको छ ।

मतगणनाको सुरुआती चरणदेखि अग्रता बनाउनुभएका रानाभाटलाई अन्तिम चरणमा गुरुङले पछि पार्नुभयो । उपप्रमुखमा राप्रपाका रञ्जना सेनको पाँच हजार ३१८ मत रहेको छ । पोखरामा हालसम्म २५ वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । महानगरका ३३ वडामध्येमा हालसम्म नेपाली कांग्रेसले १८ वडामा जित हासिल गरेको छ । नेकपा एमालेले सात वडा जितेको छ । अहिले वडा नं १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ को मतगणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *